Logo
Logo

सभामुखमाथि आपराधिक कदम चाल्ने खतरा !


42.5k
Shares

घमण्डी घामले बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्यायो । घामलाई नै ढाक्न जोडबल गर्ने बादललाई आफ्नै खल्तीको चल्ती बनाएदेखि घाम झनै ओझेलमा पर्दै गएको छ ।

घाममाथि बादल लागेपछि स्वभावैले देखाउने सामान्य लक्ष्यण हो यो । त्यसो त मंसिर पुसमा पनि उखालिएर आम जनताका ओठतालु सुकाउन दुस्साहस गर्ने घाम, यतिबेला आफैँ मर्माहत छ । हुन त आकाशबाट पातलमा भाँसिदासमेत आफ्नै घमण्डले खरानी भएको पत्तो नपाउने भष्मासुर घामको कति वर्णन गरौं ? त्यसै पनि ऊ आफैँ गुमराहको जंजिरले जेलिएको छ ।

पीडा र स्तब्धताको दाम्लोले बाँधिएको छ । आफै निस्तो र रित्तो बनेको छ । समग्रमा, उसको घमण्ड र अहंकार भुइँमा न भाँडामा भएपछि अचेत अवस्थामा बर्बराउन थालेको छ ।

अब लागौं सोझै विषयवस्तु तिरै–
राजा रजौटाहरूको पैताला सुँघेरै जीविकोपार्जन गर्नेहरू आज शिर ठाडो पारेर हिँड्न सक्ने वातावरण बनेको छ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सधैं धारेहात लगाउनेहरू आज यही व्यवस्थाको उब्जनी खाएर ढाडिएका छन् । र कुनै न कुनै कोणबाट यसलाई सिध्याउनुपर्छ भनेर अँध्यारो खोपीमा साउती मारिरहेका छन् ।

भनिन्छ– संसारका बहुसंख्यक मान्छे फगत खानको लागि बाँच्छन् । बिरलै साहसी र दूरदर्शी नेताहरूले जनपरिचालन गर्छन्, क्रान्ति गर्छन्, राजनीतिक नेतृत्व लिन्छन् र सबै थरिका जनतालाई सही ढंगले सञ्चालन गरी देश विकास गर्छन् ।

सभामुख कुनैपनि हालतमा एमसीसी टेबल नगर्ने पक्षमा छन् । केपी ओली बारम्बार सभामुखमाथि तित्रेमुखे गाली गर्दैछन् । ओलीले कुनै पनि बेला सभामुखमाथि आपराधिक कदम चाल्ने खतरा छ ।

उसो त हाम्रो मुलुकमा पनि नेता नभएका कहाँ हुन् र ? घरैपिच्छे नेता छन् । पार्टी–पौवा, चोक–चौतारो, चिया पसलदेखि भट्टीसम्म बडो जोगिएर हिँड्दा पनि नेतै नेताकै कुम ठोकिन्छ ।

भनिन्छ– एउटा असल नेतृत्वको जन्म वर्गसंघर्षको भट्टीबाट हुन्छ । यद्यपि यी गल्ली–गल्लीमा भेटिने अधिकांश नेता भनौंदाको जन्म भने धमाधम खल्तीबाट फुत्तफुत्त भइरहेको छ । आफ्ना प्रभुको पैताला सुम्सुम्याएवापत बक्सीसस्वरुप यिनीहरू एकाएक नेताको बर्को ओढेर जन्मिन्छन् ।

अनि लोकमाथि बुट बजारेर तमासा देखाउन थाल्छन् । यिनीहरू रुपमा सत्यनिष्ठाको भजन गाउँछन् र सारमा कुरुपताको पक्षपोषण गर्छन् । सत्तामा नपुग्दासम्म भत्किएका बाटोघाटो, चर्किएका पुलपुलेसा, औषधि नभएका अस्पताल र स्कुल नभएका गाउँहरूलाई औधी लोकाचार पार्छन् । जब राज्यसत्ताको मझेरीसम्म पुग्छन्, तब त्यही सत्ता नामको निलकाँडोले दिनदुखीहरूलाई निरन्तर घोच्न थाल्छन् ।

विश्वका अन्य देशहरूमा राष्ट्रलाई कसरी विकासोन्मुख मार्गमा लैजाने ? आफ्नो देशको स्वाधीनताको कसरी रक्षा गर्ने ? देशको अर्थतन्त्रलाई कसरी मजबुत पार्ने भन्ने बिषयमा गहन छलफल चल्छ । तर हाम्रोमा विदेशीलाई देश कुन हिसाबले सुम्पिने ? उत्तरको दबाब मान्नेकी दक्षिणको प्रभाव हेर्ने ? आदेश मानेवाफत कुन पार्टीको भागमा कतिसम्म बिल्ला लाग्ने ? कसले धेरै र कसले थोरै खाने ? जस्ता विषयमा तछाड–मछाड नै चल्छ ।

उदाहरणस्वरुप, अहिले नेपाली जनतामाथि जबर्जस्ती थोपर्न खोजेको एमसीसी हेरौं । सभामुख अग्निप्रसाद सापकोटाले कुनैपनि हालतमा एमसीसी टेबल नगर्ने सार्वजनिक रुपमै बताउँदै आएका छन् । यद्यपि, देश बेच्न तयार नभएकै कारण एमाले अध्यक्ष केपी ओलीले बारम्बार सभामुखमाथि तित्रेमुखे गाली गर्दैछन् । ओलीले कुनै पनि बेला सभामुखमाथि आपराधिक कदम चाल्ने खतरा पनि उत्तिकै छ ।

सेक्युरिटी मेसिन खरिदको ७० करोड, वाइडबडीको ६ अर्ब, मेडिकल उपकरण खरिदको ३ अर्ब गोजीमा पर्नै लाग्दा मिडियाबाजी भएपछि त्यसको शोधभर्नास्वरुप एमसीसीको पैसामा र्याल काढिँदैछ । आफ्नै कार्यकालमा जसरी भएपनि पास गरिछाड्ने जोखना हेरेका ओली गुटले अहिले संसदमा देखाइ रहेको नाटक पनि सत्ता वियोग र मुलतः एमसिसी पास गर्नका लागि रचिएको खेल हो ।

यता हाम्रै पसिनाको इन्द्रेणी र आँसुको बाफमाथि साम्राज्यवादले हेलिकोप्टर उडाउन खोज्दैछ । अगाडि घाँस देखाएर पछाडि खुकुरी उध्याउँदैछ । उता ओली भने सत्तागठबन्धन तोडेर एमसीसी पास गर्ने सर्तमा मात्रै संसदका कामकारबाही संचालन हुन दिने लाजमर्दो अभिव्यक्ति दिँदै हिँडेका छन् ।

हुनत ओलीका कपोकल्पित र घृणित शब्द उच्चारणबाट लाजसमेत भुतुक्कै लजाउँछ होला । सत्ता गुमेको वियोगान्त पीडाले ग्रसित ओली यतिसम्म ह्याङओभरमा रहेछन् कि– भर्खरै सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनमा सम्बोधन गर्दा वर्तमान प्रधानमन्त्रीलाई नै पूर्वप्रधानमन्त्री भनिदिए ।

उनी नीति, विधि, पद्धति र सिद्धान्त सबै भ्रम ठान्छन् । आफ्नो सनकको भरमा मात्रै राज्य चल्नुपर्छ भन्ने अहंकारयुक्त ढिपी गर्छन् । यही ढिपीले उनको पलत निम्त्याएको समेत अत्तो पाएका छैनन् ।

जनतालाई रैती, कार्यकर्तालाई दास, समकक्षीलाई सुसारे र मिडियालाई मुखपत्र बनाएर एकछत्र राज गर्ने ओलीको ठूलो सपना हो । स्थानीय तहको समेत नेतृत्व गर्ने खुवी नभएका ओली दुई– दुई पटक प्रचण्डको बुइ चढेर जेनतेन प्रधानमन्त्री भए । परन्तु सिरकले छोपिएको बिरालो म्याउँ नगरी कहाँ छाड्थ्यो । अन्ततः दुईतिहाई बहुमतसहितको पार्टी र सरकार चिथोरेर सबै धुजा–धुजा बनाए ।

त्यहीँबाट ओलीको ओरालो यात्रा सुरुभयो । माधव नेपाल–प्रचण्डहरूले धेरैपटक उनलाई सच्चिनका लागि पनि सुझाए । तर अहँ, ओलीका अघि ती सुझाव र उपदेशहरू छेपारोलाई शास्त्र सुनाए जत्तिकै पनि भएनन् ।

देशभित्रका त कुरै छाडौं, ओली नेतृत्वको सरकारले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत देशको बदनाम गर्याे । ओलीकै कारण सिंगो नेपाली कम्युनिष्ट आन्दोलन नै धरापमा पर्ने छाँट देखिएपछि आखिर उनै प्रचण्ड–माधवले नै ओली अहंकारमाथि धावा बोलेर बार्दलीमा पुर्याइदिए ।

खासमा ओलीले राजनीतिमा विचार, सिद्धान्त, निष्ठा, आदर्श र कर्तब्यको त दाहसंस्कार गरिनै सके । अब उनले बार्दलीमा बसेर छिमेकीको छानामा ढुङ्गा हान्नुको विकल्पसमेत नदेखेको आमगतिविधिबाटै प्रष्ट हुन्छ ।

ओली गुटको अबको मुख्य उदेश्य भनेकै संसदलाई पंगु बनाएर आफ्नो विघटनलाई सहि पुष्टि गराउन खोज्नु हो । त्यसैले सभामुखले दुईमध्ये कुनै एक वा दुबै विकल्प माने पनि एमालेले फेरि अर्को बखेडा झिक्ने ग्यारेन्टी छ । ओली गुट जहिल्यै अग्रगमनको बाटोमा पासो थापेर क्षणिक लाभका लागि ¥याल काढेर बसेको छ ।

निर्वाचन नजिकिँदै छ । दुई–दुईपटक आम जनमतको घाँटी निमोठेर हत्या गर्ने हत्याराहरू फेरिपनि गाउँ छिर्नेछन् । र, नलजाएरै बाँड्ने छन् उन्मुक्तिका खोक्रा कोसेलीहरू । विगतमा जस्तै उखान टुक्काको बिस्तारा लगाएर गाउँहरूलाई लठ्ठ पार्ने भरमुग्ध प्रयास गर्नेछन् ।

परन्तु गाउँहरू होशियार हुनुपर्छ । सिद्धान्तको झोलादेखि देशको खोलासमेत विदेशीको पाउमा चढाएका जनघातीहरूलाई अब पनि चिनिएन भने देश विदेशीले नै हडप्ने छ र आउने पुस्ताले हामीलाई सराप्ने छ ।

भनिन्छ नि ‘मूर्ख इष्ट भन्दा वुद्धिमान दुष्ट जाती’ भनेर । त्यसैले आजैदेखि यस्ता भ्रष्ट, छलकपट, बेइमान र देशघातीहरूको झुन्डलाई आम जनस्तरबाटै बहिष्कार गरौं ।

लमही, दाङ ।

प्रतिक्रिया दिनुहोस्