Logo
Logo

एमालेविरुद्ध भीम रावल


16.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बारम्बार संसद अवरुद्ध गर्दै आएको छ । नवौँ अधिवेशन भर संसद्मा अवरोध गरेको एमालेले दशौँ अधिवेशनको तेस्रो बैठकसम्म लगातार संसद् बैठक बहिस्कार गर्दै आएको छ ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको एमालेको निष्कर्ष छ । सोहि कारण एमालेले निरन्तर संसद अवरुद्ध गरेको हो ।

बैठकको कामकारवाही प्रारम्भ हुने वित्तिकै एमाले सांसदले रोष्ट्रम घेराउ गरी नाराबाजी गर्दै आएका छन् । एमालेका सांसदहरूले ‘संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर’ लगायतका नारा लगाउँदै आएका छन् ।

सभामुख सापकोटाले प्रत्येक बैठकमा जनप्रतिनिधिमूलक संस्था संसद्लाई सुचारु रूपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै आएका छन् । तर, आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म संसद अवरूद्ध गर्ने निर्णय नै गरिसेको एमालेले गरिसेकाे छ ।

एमालेकै कारण प्रतिनिधि सभा बैठक यही पुस १८ गतेसम्मको लागि स्थागित गरिएको छ भने राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित छ ।

संसद् खुलाउन सभामुखले अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।

यसरी निरन्तर संसद अवरूद्ध गरेपछि एमालेकै नेताले आपत्ति जनाउन थालेका छन् । देश र जनताको पक्षमा बहस गर्ने ठाउँ संसद अवरुद्ध गर्न नहुने एमाले नेता भीम रावल बताउँछन् । रावल भन्छन्– ‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो, सरकारका सबै कामकारबाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन ।’

आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्ने खेल चालेको हुनसक्ने रावललको आशंका छ । उनी भन्छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गर्नाले देश कमजोर हुँदै जाने उनको भनाइ छ । एमालेले संसद अवरुद्ध गर्दा होहल्लाको बीचमा सरकारले चाहे अनुसार कानुन र महत्वपूर्ण विषय खुरूखुरू पारित गर्नदिने नीति र कार्यदेश, जनता र लोकतन्त्रको विरूद्धमा हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्