Logo
Logo
कला

‘समयअनुसार चल्नुलाई छाडा भन्न मिल्दैन’


5.8k
Shares

अधिकांश मोडल म्युजिक भिडियोबाट फिल्ममा फड्को मार्ने गर्छन् । कला क्षेत्रमै करिअर बनाउन चाहनेका लागि त्यो उपयुक्त विकल्प पनि हो । तर, उषा सुवेदी मोडलिङमै रमाउन चाहन्छिन् । दुई सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उषा भन्छिन्, ‘मलाई फिल्ममा अभिनय गर्ने रुची नै छैन । जसकारण फिल्मका थुप्रै अफरहरू रिजेक्ट गरेकी छु ।’ नुवाकोट दुई पिपलमा जन्मिएकी उषा म्युजिक भिडियो क्षेत्रमा चर्चित छिन् । सानैदेखि मोडल बन्ने सपना देखेकी उषा मोडलिङबाटै नाम र दाम कमाउन चाहन्छिन् । लोकदोहरी प्रतिष्ठान बागमती प्रदेशको सचिवसमेत रहेकी उषासँग दृष्टिको जम्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?

व्यस्त नै छु । कोभिड महामारी सामान्य भएसँगै धमाधम म्युजिक भिडियोहरू निर्माण भइरहेका छन् । कोभिडले गर्दा झण्डै दुई वर्ष थन्किएर बस्नुपरेको थियो । त्यसको अहिले पूर्ति गर्दैछु ।

म्युजिक भिडियोमा व्यस्त हुनुहुन्छ । यो क्षेत्रमा लाग्नुभएको कति भयो ?

२०७२ सालदेखि नै निरन्तर मोडलिङ क्षेत्रमा छु । कोभिड महामारीले कला क्षेत्रमात्र नभएर सबै व्यवसाय ठप्प भयो । कोभिड–१९ को महामारी नफैलिएको भए अझै व्यस्त हुन्थेँहोला ।

मोडलिङप्रति कसरी प्रभावित हुनुभयो ?

स्कूल पढ्दादेखि नै मोडल बन्छु भन्ने सोच आयो । तर, कसरी र किन प्रभावित भएँ भन्ने आफैँलाई थाहा छैन । मोडल भएपछि सबैले चिन्छन् । नाम कमाइन्छ भन्नेचाहिँ थाहा थियो ।

अहिले सोचेजस्तै भइरहेको छ त ?

अलिकलि फिलचाहिँ गर्दैछु । कला क्षेत्रमा चिनिएकी छु । मोडलिङमा लागेर नामसँगै आफूलाई पुग्ने दाम पनि कमाइरहेकी छु । एउटा कलाकारका लागि यो नै ठूलो कुरा हो ।

यो क्षेत्रमा लागेर अहिलेसम्म के पाउनुभयो ?

म गाउँको सामान्य मान्छे, गाउमै हुर्केबढेको । मेरो परिचय यति नै हो जस्तो लाग्थ्यो । तर, कला क्षेत्रमा लागेपछि अहिले जसले पनि उषा सुवेदी भनेर चिन्नुहुन्छ । यो क्षेत्रबाट मैले पहिचान पाएकी छु ।

फिल्म क्षेत्रमा पाइला राख्ने सोच छैन ?

मलाई फिल्ममा रुची छैन । इच्छा र रहर भएको भए अहिलेसम्म तीन-चार वटा फिल्म गरिसक्थेँ । तर, अफर आएका फिल्महरू रिजेक्ट गरेँ । अहिले पनि अफरहरू आइरहेको छ । तर, फिल्म खेल्दिनँ ।

फिल्ममा रुची नहुनुको कुनै कारण छ ?

त्यस्तो कारण त छैन । मलाई सुरुबाटै फिल्ममा काम गर्ने इच्छा नभएको हो । मलाई मोडलिङ नै ठीक लागिरहेको छ ।

मोडलिङमा भविष्य देख्नुहुन्छ ?

यो क्षेत्रको भविष्य कस्तो हुन्छ भन्नुभन्दा आफ्नो भविष्य कस्तो बनाउने भन्नेतर्फ सोच्न जरुरी देख्छु म । कुनैपनि क्षेत्रमा स्थापित हुनका लागि उसले त्यस क्षेत्रमा गरेको मेहनत, संघर्ष र क्षमतामा भरपर्छ । इमान्दारिका साथ काम ग¥यो भने जुनै क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ ।

कला क्षेत्रमा विकृति बढ्यो भन्छन् नि ?

समाजमा धेरैथरिका मानिस हुन्छन् । आ–आफ्नै तरिकाले जिवनयापन गर्न रुचाउँछन् । जहाँसम्म मोडलिङको सवाल छ, यो ग्ल्यामरको क्षेत्र भएकाले पहिरनमा मानिस छाडापन आयो भन्छन् । तर, परिवर्तित समयअनुसार चल्नुलाई छाडा भन्न मिल्दैन । आवश्यक भन्दा बढी भएमा खबरदारी गर्नु भने आवश्यक छ ।

भिडियोमा देखिरहनुहुन्छ । श्रोता–दर्शकले कस्तो गीतसंगीत रुचाएको पाउनुहुन्छ ?

पछिल्लो केही वर्षयता गीत सुन्नेभन्दा हेर्नेको लहर छ । जति नै कर्णप्रिय गीत भएपनि भिडियो निर्माण गर्नु अनिवार्य नै बनेको छ । एउटै गीत अडियोमा सुन्नु र भिडियोमा हेर्नुमा धेरै फरक छ ।

तपाईँ आफैँलाई मनपरेको भिडियो कुन हो ?

दर्जनौँ भिडियोमा मोडलिङ गरेको छु । प्रायः सबै राम्रै लाग्छ । तर, एउटा छान्नुपर्दा, केही समयअघि सार्वजनिक भएको र चर्चामा आएको ‘दुई दिन हँसायो’ बोलको भिडियोलाई छान्छु ।

मोडलिङ क्षेत्र छाड्नुभयो भने अरु के गर्नुहुन्छ ?

सकेसम्म मोडलिङ छाड्दिन । त्यो दिन आउदा जस्तो पनि लाग्दैन । छाड्नै पर्ने अवस्था आएमा त्यतिखेरै सोचौँला ।

मोडलिङ क्षेत्रमा आउने नयाँ प्रतिभाहरूलाई के सुझाव दिनुहुन्छ ?

पहिलो कुरा त हरेक क्षेत्रमा प्रवेश गर्नुअघि बुझ्न जरुरी छ । यो आफ्नै अनुभव पनि हो । त्यसैले मोडलिङ क्षेत्रमा आउन चाहनुुहुन्छ भने त्यसबारे बुझ्नुस् किनकि, नेपाली कला क्षेत्र एकदमै साँघुरो छ । त्यसमाथि प्रतिस्पर्धा पनि कडा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्