Logo
Logo
माओवादीको आठौं महाधिवेशन

खाना र बस्ने प्रतिनिधि आफैंले तिर्नुपर्ने, चिया र नास्ता पार्टीले दिने


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी प्रतिनिधिले खाना र बस्ने व्यवस्था आफँैले गर्नुपर्ने भएको छ । दिउँसोको खाजाको व्यवस्था पार्टीले मिलाउँने भएको छ ।

यसअघि नै माओवादी केन्द्रको स्थायी समिति बैठकबाट प्रतिनिधिले आफ्नो खाना, बस्ने व्यवस्था आफैँले गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरपार्टी निर्देशन जारी गर्दै प्रतिनिधि, प्रदेश समिति, जिल्ला समितिहरुलाई जानकारी समेत गराइसकेका थिए ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य हिमाल शर्माले प्रतिनिधिहरुले आफ्नो खाना, बस्ने लगायतका व्यवस्था आफैँले गर्नुपर्ने बताए । दिउँसोको चिया, खाजाको व्यवस्था पार्टीले महाधिवेशन स्थलमै गर्ने उनले बताए ।

‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । चिया, खाजाचाहिं पार्टीले महाधिवेशन स्थलमै खुवाउँछ’ शर्माले भने ।

महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । यद्यपि सकेसम्म हरेक दिन मेनु फरक–फरक बनाउने तयारी छ ।

महाधिवेशनको उदघाटन समारोह आज अपराह्न तीन बजे काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुदैछ । त्यसपछि सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन पेश हुनेछन् । प्रतिनिधिहरुलाई समूहमा विभाजन गरेर प्रतिवेदनमा छलफल गरिने छ ।

महाधिवेशनमा देशैभरीका १६ सय ८ जना प्रतिनिधि सहभागि हुदैछन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्