Logo
Logo

क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन प्रचण्डको अपिल


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको १२९औँ जन्मजयन्तीका अवसरमा आइतबार शुभकामना दिँदै उनले सो अपिल गरेका हुन् ।
माओको २६ डिसेम्बर १८९३ का दिन जन्म भएको थियो । अध्यक्ष प्रचण्डले माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेताका रूपमा रहेको चर्चा गर्दै उनको योगदान विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको बताएका छन् ।

‘क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ’, अध्यक्ष प्रचण्डद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ ।’

जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्णरूपले केन्द्रित हुन अपिल गरेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना सन्देश

१२९ औं जन्मजयन्तीको अवसरमा विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । यस ऐतिहासिक सन्दर्भमा विश्वभरिका श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मालेमावादी विश्वदृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन हार्दिक अपील गर्दछु ।

२६ डिसेम्बर १८९३ मा जन्मिनुभएका चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता हुनुहुन्थ्यो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलूकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ ।

समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ ।मालेमावादी विश्वदृष्टिकोणको आलोकमा हाम्रो पार्टीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको छ ।

जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ । यस ऐतिहासिक अवसरमा समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन विशेष अपील गर्दछु ! धन्यवाद ।

११ पौष, २०७८ (२६ डिसेम्बर, २०२१)

पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष

प्रतिक्रिया दिनुहोस्