Logo
Logo

माओवादी र हाम्रो पार्टीको एजेन्डा एउटै हो : अनिल झा


5.7k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले संविधानमा सबैथोक भएपनि केही नभएको महसुस भइरहेको बताएका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै नेता झाले संविधान सबैले आफ्नो हो भनेर सर्वमान्य हुनेगरी संविधान संशोधनको आवश्यता रहेको बताए ।

उनले भने– ‘संघीयता आयो ? कस्तो आयो ? समावेशीकरण भयो । त्यो पनि कस्तो भयो, कस्तो भयो । संविधानमा सबैथोक छ । केही पनि छैन, जहाँ हितैषी हुन्छन्, त्यहाँ कोही हुँदैन । अस्पतालमा एक पिन्ट रगत दिने पनि हुँदैन ।’

आफ्ना माग पूरा गर्न ६ महिनासम्म म्याराथन आन्दोलन गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धिको रक्षा गर्ने भनेर संविधान स्वीकारेको बताए ।

उनले भने– ‘प्राप्त उपलब्धिलाई रक्षा गर्न संविधानमा लेखौं । जारी गरौं । तब तपाईंहरुको माग सम्बोधन हुन्छ भन्नुभयो । यो पाँच वर्षमा अनेक एजेन्डामा छलफल भयो, तर हाम्रो एजेन्डामा छलफल भएन ।’

उनले माओवादी र आफूहरुको एजेन्डा एउटै भएको उल्लेख गरे । आफ्नो नेता गजेन्द्रनारायण सिंहले भनेको स्मरण गर्दै उनले भने– ‘हामी विद्यार्थी नेता हुँदा हाम्रा नेता गजेन्द्र नारायण सिंहले माओवादीलाई आतंकवादी पार्टी भन्नुभएन । माओवादीसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘हामी उस्तै–उस्तै हो । फरक यत्ति हो, हामी गान्धीवादी, उहाँ माओवादी हो ।’

बाटो एउटै भएकाले अप्रत्यक्ष रुपमा सघाउनुपर्छ भनेर सघाएको पनि झाले बताए । संघीयता र समावेशीकरणको एजेन्डा उचितरुपमा सम्बोधन गराउन प्रचण्ड र अन्य नेताले गम्भीर रुपमा लाग्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्