Logo
Logo

नेकपा जोगाउन नसकेकोमा पछुतो लागेको छ : शंकर पोखरेल


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै महासचिव पोखरेलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाको एकता विभिन्न कारणले जोगाउन नसकिएको बताए ।

‘एमाले र माओवादीबीच एकीकरण गर्ने सोच सही थियो । तर, विभिन्न कारणले एकता जोगिएन् । एकता जोगाउन नसकेकोमा पछुतो छ’ महासचिव पोखरेलले भने ।

उनले अब वामपन्थी आन्दोलनको समीक्षा गर्नुपर्ने बताउँदै भने– ‘के अहिले वामपन्थी आन्दोलन सही बाटोमा हिडिरहेको छ ? अब नयाँ सोच, नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ ।’

नयाँ म्याण्डेटका साथ वामपन्थी आन्दोलनलाई अगाडि बढाउन अब आउने नेतृत्व सफल हुने विश्वास उनले व्यक्त गरे । उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए ।

‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ एउटै घोषणा–पत्रमा चुनाव लड्यौँ र एउटै पार्टी बनाउन नेकपा गठन गर्यौं’ उनले भने, ‘त्यो एकतालाई कायम राख्न सकेनौँ, एकताका लागि इमान्दार प्रयास भएको थियो, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’

अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्ररी अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको उनले टिप्पणी गरेका छन् । अब नेताहरूको अन्तर कलहका आधारमा नीति बनाउनु नहुने उनको भनाइ थियो ।

जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुई पटक संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको कामको बचाउ गर्दै उनले निर्वाचनमा जान खोज्नु प्रतिगमन नभएको जिकिर गरेका छन् ।

उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए ।

नेपालमा तीनवटा क्रान्ति एउटै पुस्ताले गर्दा पनि मुलुकलाई परिर्वतन गर्न नसकेको भन्दै जनताले क्रान्तिमात्र नभएर विकास पनि खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्