Logo
Logo

रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने संकल्प


378
Shares

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ तपरगाउँका युवा व्यवसायी दिपेन्द्र पौडेलले गाउँ फर्किएर रिसोर्ट सञ्चालन गरेका छन् । दुलेगौडा बजारमा अफसेट प्रेस सञ्चालन गर्दै आएका पौडेलले गाउँ छाडेको १७ वर्षपछि पुनः गाउँ फर्किएर टपरी रिसोर्ट सञ्चालन गरेका हुन् ।

उजाडिएको गाउँमा सम्भावना देखेर पौडेलले रिसोर्टमा रु ५० लाख लगानी गरेको बताए । पूर्वाधार थप गर्न बाँकी नै रहेकाले लगानी बढ्ने उहाँले जानकारी दिए । सुविधा खोज्दै सहर पस्दा गाउँ रित्तिएको र रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प बोकेको पौडेलले बताए ।

‘बस्ती रित्तिएर गाउँघर उराठ लाग्ने भएको थियो, घरहरू भत्कँदै थिए । बारी बाझिएर जङ्गल बन्दैथ्यो’ उनले भने । ‘गाउँको सम्भवानालाई उजागर गर्न सक्नुपर्छ भनेर गाउँ फर्किएर रिसोर्ट सञ्चालन गरेको हुँ । युवाहरू सहर केन्द्रित हुने नभई गाउँमै सम्भावनाको खोजी गर्नुपर्ने पौडेलले बताए ।

सहरको कोलाहल र धुवाँधुलोबाट मुक्त हुँदै आनन्द लिनका लागि रिसोर्ट उपयुक्त हुने विश्वास गरिएको छ । पृथ्वीराजमार्गस्थित शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा छ किमी दूरीमा रिसोर्ट पुग्न सकिन्छ । पौडेलले पुख्र्यौली पाँच रोपनी जग्गामा रिसोर्ट सञ्चालन गरेका छन् । रिसोर्टमाा स्थानीय अग्र्यानिक उत्पादनलाई बढावा दिइने बताइएको छ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई लोभ्याउने पौडेलले बताए ।

रिसोर्टको पूर्वाधार थपसँगै अब अग्र्यानिक उत्पादनमा जोड दिने पौडेलले बताए । ‘त्यसका लागि २०० रोपनी जमिनमा अग्र्यानिक तरकारी खेती गर्ने तयारी गरेको छु, तरकारी खेतीका लागि अन्य दुई साथीसँग सहकार्यको तयारी भइरहेको छ’, उनले भने ।

पढाइ, जागिर र सुविधा खोज्दै सहर झर्नेको लर्कोले गाउँ रित्तिदै गएका बेला आफू गाउँ फर्किएको बताउँदै पौडेलले भने, ‘गाउँको एक दर्जन परिवारले थातथलोलाई चटक्कै माया मारेर सुविधा भएको ठाउँ रोजे । वर्षौँदेखि रित्तिएको गाउँका घर ढले, खेतबारी बाझिए । गाउँ छाड्ने लहर चलिरहेका बेला उकालो चढेर रित्तिएको बस्तीमा फर्कने चेष्टा गरेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्