काठमाडौं । अवकाशको मिति नजिकिदै गर्दा सशस्त्र प्रहरीका दुई डिआइजी अस्वस्थ चलखेलमा लागेका छन् । आफ्नो बढुवाका लागि एआइजीको दरबन्दी थप्न डिआइजीद्वय मन्दीप श्रेष्ठ र खड्ग राई लागेका हुन् ।
डिआइजीको पदावधिका कारण उनीहरूले आगामी महिना अनिवार्य अवकाश पाउँदैछन् । एआइजी भए जागिर लम्बिने मात्र होइन आइजिपीको दाबेदारसमेत हुन पाइने भएकाले उनीहरू चलखेलमा लागेका हुन् । नेपाल प्रहरीमा पनि एआइजीको दरबन्दी थप हुन लागेको र सशस्त्रमा पनि यही मौकामा थप्नुपर्छ भनेर उनीहरू शक्तिकेन्द्र धाउन थालेका छन् ।
यसअघि एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको पदावधि थप नगरी ती पदमा बढुवा हुन उनीहरूले लबिङ गरेका थिए । कार्यक्षमतामा कमजोर मानिने दुवै जना अहिले शक्तिकेन्द्रलाई प्रभावमा पार्ने प्रयासमा छन् ।
प्रहरी महनिरीक्षक शैलेन्द्र खनालले करिब तीन महिनापछि अवकाश पाउँदैछन् । जसमा पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक एआइजी दुई साताका लागि आइजिपी हुनेछन् । त्यसपछिको महानिरीक्षकका लागि अस्वस्थ प्रतिस्पर्धा चलेको हो ।
एआइजीको दरबन्दी थप नभएको अवस्थामा राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्ये एक आइजिपी हुनेछन् । सो ब्याचका तीनै जना क्षमतावान अधिकृतका रुपमा चिनिन्छन् । उनीहरूलाई रोकेर आर्थिक चलखेलका आधारमा आइजिपी बनाउन केही बिचौलियासमेत सक्रिय बनेका छन् ।
उता, दुई हप्ताको आइजिपी हुन पनि चर्काे प्रतिस्पर्धा हुने देखिएको छ । दोस्रो वरीयतामा रहेका पौैडेल पनि पछिल्लो समय नेताको घर धाउन थालेका छन् । आफु पनि आइजिपीको प्रतिस्धर्पामा रहेको भन्दै मातहतसँग खर्च उठाउन थालेको स्रोत बताउँछ ।