काठमाडौं । कर्तव्य ज्यान मुद्दामा नेपालमा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)को सहयोगमा एक जनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो ।
कास्कीका अशोक गुरुङ बहराइन तथा उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवै जना वैदेशिक रोजगारीको क्रममा त्यहाँ पुगेका थिए । दुवैलाई नेपाल ल्याउन प्रहरीको इन्टरपोल शाखाले कुटनीतिक पहल अघि बढाएको छ ।
पोखरामा हत्या, बहराइनमा हत्कडी
साढे १५ वर्षअघि पोखरामा भएको एक हत्याका आरोपी हुन् अशोक गुरुङ । गत २९ मंसिरमा उनलाई बहराइनको प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई नेपाल ल्याउन कुटनीतिक माध्यमबाट सुपुदर्गीको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।
२९ बैशाख २०६३ मा उनले पोखराको सातमुहानेमा रोजन राईको हत्या गरेका थिए । आपसी विवादमा झगडा हुँदा टाउकोमा चिपर्टले हानेर राईको हत्या भएको थियो ।
त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलबाट गत २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । त्यसको दुई दिनपछि बहराइनमा उनी समातिएका हुन् । बहराइनले एक महिनाभित्र सुपुदर्गीका लाथि कुटनीतिक माध्यमबाट आउन नेपाललाई पत्राचार गरेको छ । सोहीअनुसार नेपाल प्रहरीले उनीविरुद्धको अभियोगबारे गृह र परराष्ट्र मन्त्रालय हुँदै बहराइनलाई पत्राचार गरेको थियो । त्यसको आधारमा त्यहाँको अदालतले सुपुदर्गी गर्न आदेश दिएपछि नेपाल ल्याइने प्रक्रिया अघि बढ्नेछ । दुई देशबीच सुपुदर्गी सन्धि नहुँदा यसरी उनलाई त्यहाँको देशले निष्काशन गरी नेपाल पठाउनेछ ।
प्रेमिकाको आमा–बुबा हत्या गरेर साउदीमा
इन्टरपोलबाट रेड नोटिस जारी भएका गोविन्द मगरलाई इन्टरपोलकै सहयोगमा प्रहरीले पक्राउ गरेको हो । उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमाया तामाङको हत्या अभियोग उनीमाथि छ । आफुसँग प्रेम सम्बन्ध भएकी छोरीको अरुसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बिभत्स हत्या गरेका थिए । सुरुमा मानबहादुरमाथि आक्रमण गरेकोमा रोक्न जाँदा हर्कमायाँको समेत हत्या गरेका थिए ।
घटनापछि फरार उनीविरुद्ध गत वर्ष माघमा रेड नोटिस जारी भएको थियो । उनलाई लिन अगाामी नेपाल प्रहरीको टोली साउदी अरेबिया जान लागेको प्रहरी स्रोत बताउँछ ।
यसरी विदेशमा समेत पक्राउ गर्नुले अपराध गरेर विदेश गई लुक्न सम्भव छेन भन्ने सन्देष गएको छ ।