काठमाडौं । आगामी निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले हतियारदेखि गाडीसम्मको माग गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार गृह मन्त्रालयमा यससम्बन्धि प्रस्ताव गरेको हो ।
निर्वाचनका लागि साना र ठुला गरेर एक हजार चार सय थप गाडी आवश्यक हुने प्रहरीले जनाएको छ । त्यसमध्ये कतिपय खरिद तथा कतिपय भाडामा लिन सकिने उल्लेख छ ।
निर्वाचनका लागि हतियार समेत अपुग रहेको भन्दै प्रहरीले हतियार खरिदको प्रस्ताव समेत गरेको गृह मन्त्रालय स्रोत बताउँछ । त्यस्तै, थप करिब ६ सय सञ्चारसेट समेत माग गरिएको छ । म्यादी प्रहरी भर्ना तथा अन्य बन्दोबस्तीका सामान समेत लागि प्रहरीले करिब १४ अर्ब बजेटको माग गरेको छ ।
प्रहरी दिएको विवरण अनुसार कुनै पनि निर्वाचन एकै चरणमा गर्नुपरेमा सात हजार सुरक्षाकर्मीको अभाव हुन्छ । साथे, ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने हुन्छ । कम्तीमा एक साताको फरकमा दुई चरणको निर्वाचन भएमा भने जनशक्ति पर्याप्त हुने र म्यादी प्रहरी पनि कम आवश्यक हुने प्रहरीको विश्लेषण छ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी तथा जिल्ला प्रशासनसँग पनि बजेट आँकलन गरी पठाउन भनेको छ । सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गराउने तयारी गरेको छ ।