Logo
Logo

ग्लोबल आइएमई बैंकको पहलमा निःशुल्क महिला स्वास्थ्य शिविर


189
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा भिआइए जाँचलगायतका सेवा निःशुल्क उपलब्ध हुनेछन् ।

नेपाल परिवार नियोजन संघसँगको समन्वयमा हुने यस कार्यक्रमअन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्यचौकी सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगञ्ज स्वास्थ्यचौकी सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र–गौशाला– महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्यचौकी दोगडाकेदार, बैतडीमा पुस १६ गते, बागमती प्रदेशको पारच्याङ स्वास्थ्यचौकी नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य एकाइ भवन लमजुङमा पुस १७ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।

यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दति बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरूपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाका निम्ति प्रभावकारी हुने र महिलामा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको जनाएको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्