काठमाडौं ,१४ जेठ ।
नेपालका लागि अभेरिकी राजदुत र्यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’को पहिलो भिडियो सार्वजनिक गरेका छन्।
अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरु गरेका हुन्। कूटनीतिज्ञले नेपाली समाजसँग प्रत्यक्ष अन्तरसंवाद गर्न लागेको समाचार आएपछि परराष्ट्र मन्त्रालयले गत साता राजदूत बेरीलाई स्पष्टीकरणमा बोलाएको थियो। स्रोतका अनुसार परराष्ट्र सचिव शंकर बैरागीले राजदूत बेरीलाई गफगाफ कार्यक्रममा ‘पुनर्विचार’ गर्न आग्रह गरेका थिए।
सोझै प्रश्नोत्तर गरिने कार्यक्रम रहेकाले राजदूत बेरीको कदम ‘कूटनीतिक मर्यादा परम्परा र मर्यादा बाहिर’ भनेर सामाजिक सञ्जालमा आलोचना भएको थियो। आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
‘प्रश्नकर्ताका सरोकार र जिज्ञासा अनेक हुनसक्छन्, त्यसमध्ये छनोट गरेर मात्र प्रश्नोत्तर सम्भव छ’, सोमबार राजदूत बेरीको पहिलो भिडियो सार्वजनिक भएलगत्तै दूतावासका एक अधिकारीले भने। परराष्ट्र मन्त्रालयका अधिकारीले राजदूतको गफगाफ सार्वजनिक भएको विषयमा प्रतिक्रिया दिन चाहेनन्।