Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल सकियो

प्रचण्डपथलाई प्रचण्ड विचारका रूपमा दस्तावेजलाई संश्लेषण गर्न सुझाव


630
Shares

काठमाडौं । नेकपा माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दस्तावेजमाथि छलफल सकिएको छ ।

अध्यक्ष प्रचण्डको दस्तावेजमाथि आइतबारदेखि समूहगत छलफल सुरु गरिएको थियो । विभिन्न २५ समूह बनाएर दस्तावेजमाथि छलफल गरिएको हो ।

समूहगत छलफलका क्रममा सहभागी कतिपयले ‘प्रचण्डपथको विकसित रूप प्रचण्ड विचारका रूपमा दस्तावेजलाई संश्लेषण गर्न’ सुझाव दिएका छन् । दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेषगरी माओवादीको स्थान कहाँ छ ? भन्ने प्रष्ट नभएको भन्ने समूहगत छलफलमा प्रश्न उठेको थियो ।

अध्यक्ष प्रचण्डले नेपाली समाजवादी क्रान्तिको सिद्धान्त, रणनीति, कार्यनीति र कार्यदिशाबारे राजनीतिक दस्तावेजमा व्याख्या गरेका छन् । ‘२१ औँ शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेजमा पार्टीको सिद्धान्त, कार्यनीति र कार्यदिशाबारे प्रचण्डले व्याख्या गरेका छन् ।

दस्तावेजमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्कसवाद–लेनिनवाद–माओवाद भएको स्पष्ट गरिएको छ । आजको ऐतिहासिक परिस्थितिअनुसार यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको पनि प्रचण्डले उल्लेख गरेका छन् ।

दस्तावेजमा प्रचण्डले भनेका छन्, ‘राष्ट्रिय पुँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पुँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन ।’

प्रचण्डले तत्काल समाजवादमा जान सम्भव नरहेपनि शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार गर्न लागिपर्ने उल्लेख गरेका छन् ।

साथै, राष्ट्रिय पुँजीको विकास गर्ने, सामाजिक न्याय स्थापित गर्ने, सामन्ती अवशेष र दलाल–नोकरशाही पुँजीवादलाई परास्त गर्ने, वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, संविधानको कार्यान्वयन, निर्वाचन प्रणालीमा सुधार, शासकीय स्वरूपमा परिवर्तन र उत्पीडित वर्ग समुदायको पहिचान र अधिकार बढाउनेगरी संविधान परिमार्जन गर्दै जानेलगायतका विषय दस्तावेज उल्लेख छ ।

समाजवादको आधार तयार पार्ने प्रयास असफल बनाउन सबै खाले प्रतिक्रियावादी, दलाल तथा अवसरवादी तत्वहरू लागि पर्ने देखिएको बताउँदै प्रचण्डले भनेका छन्, ‘राजनीति, संगठन, जन–सम्बन्ध र विकास निर्माणका कामद्वारा प्रतिक्रियावादी षडयन्त्रको प्रतिवाद गर्दै समाजवादको आधार तयार पार्ने कामलाई योजनाबद्ध र दृढतापूर्वक सफल पार्नु पर्दछ ।’

वर्ग–संघर्षको विकास र राजनैतिक शक्ति सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्ने तुलनात्मक रूपले लामो समय जाने पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु हो’ प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्