Logo
Logo

एमाले बागमती प्रदेशको अधिवेशनमा काठमाडौंमा हुने


882
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन काठमाडौंमा हुने भएको छ । माघ ८ र ९ गते काठमाडौंमा अधिवेशन गर्ने निर्णय भएको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले बताए ।

अध्यक्ष पाण्डेको अध्यक्षतामा बसेको पदाधिकारीको तेस्रो बैठकले प्रथम प्रदेश अधिवेशन गर्नका लागि बिभिन्न समितिहरु गठन गर्ने निर्णय गरेको छ ।

बैठकले राजनीतिक÷सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ, हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयंमसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकेको छ ।

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले बताए ।

बैठकमा पार्टीका बागमती इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको लगायतका नेताहरुको सहभागिता रहेको थियो । एमाले केन्द्रीय कमिटीले सबै प्रदेशमा यही पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्