काठमाडौं । नेपाली सेना जस्तो शक्तिशाली सुरक्षा निकायलाई केही ठेकदारले ठग्ने प्रयास गरेको खुलेको छ । स्वदेशमा उत्पादन गरेको सामाग्री आपूर्ति गर्ने भन्दै चिनियाँ सामान दिएर ठगी हुन लागोके हो ।
सामान आपूर्तिको ठेक्का पाएको जयसलिना र एडी सप्लायर्स जेभीले यसरी ठग्ने प्रयास गरेको हो । जयसलिना र एडी सप्लायर्स जेभीले नेपाली सेनाका लागि आवश्यक पर्ने चुस्ताको ठेक्कामा सेनालाई झुक्याउने प्रयास गरेका हुन् । नेपालमै उत्पादन गर्ने भनेर ठेक्का लिएका जयसलिना र एडी सप्लायर्सले सुटुक्क चीनबाट आयात गरेर आपूर्तिको प्रयास गरेका हुन् । चीनबाट आयात गरिएको २९ हजार मिटर चुस्ता तातोपानी भन्सार कार्यालयले रोकेपछि यसको पोल खुलेको हो ।
जयसलिना र एडी सप्लायर्सले उक्त चुस्ता नेपालकै बीरगंजमा रहेको कोहिनुर टेक्सटाइल उद्योगमा उत्पादन गर्ने भनेर १० प्रतिशत महंगो दरमा ठेक्का पाएका थिए । नेपाली उत्पादनलाई १० प्रतिशत बढी दरमा खरिद गर्ने नीति सरकारको छ । त्यही नीति अनुसार सेनाले चुस्ता उत्पादन गर्ने कोहिनुरको उत्पादनस्थलमै उपरथीको नेतृत्वमा ११ जनाको टोली पठाई उद्योग निरीक्षण गराएको थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक खरिद ऐनमै १० प्रतिशत सहुलियत दिने ब्यवस्था गरिएको छ । त्यो सुविधाको दुरुपयोग गरी जयसलिना र एडी सप्लायर्सले सेनालाई ठग्ने प्रयास गरेका हुन् । यसमा प्रधानसेनापति प्रभुराम शर्मालाई समेत गुमराहमा राखेर सेनाका केही अधिकारीको समेत मिलेमतोको आशंका गरिएको छ।
चुस्ता उत्पादन गर्ने कोहिनुरको सहमति र टेक्सटाइलको उद्योग भिजिटपछि सेनाका उपरथी नेतृत्वको टोलीले नेपालमै उत्पादन हुने राय दिएपछि जयसलिना र एडी सप्लायर्र्सलाई ठेक्का दिएको थियो । करिब १५ करोड बराबरको उक्त ठेक्का पाएपछि जयसलिना र एडीले नेपालमा उत्पादन नगरी चीनमा उत्पादन गर्न दिए । र, चीनमा उत्पादन गरी नेपालमा ल्याउने क्रममा तातोपानी भन्सार कार्यालयले उक्त चुस्ताको बारेमा छानबिन सुरु गर्यो ।
सेनाको चुस्ता भनेर जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेत र एडीका संचालक झम्कनाथ भट्टले छुटाउन पनि खोजे । तर तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले सेनाको पत्र पेश नगरेसम्म चुस्ता नछाड्ने अडान लिएपछि उनीहरुको योजना असफल भएको छ । उक्त चुस्ताको क्यारिङ सतिदेवी इन्टरप्राइजेज गोंगबुका संचालक इश्वर न्यौपानेले गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
अशोक अग्रवालको कोहिनुर टेक्सटाइलबाट उत्पादन गर्ने भनेर सेनाबाट ठेक्का लिने, तर चीनमा सामान उत्पादन गरी ल्याउने कीर्ते काम ठेकेदार बस्नेत र भट्टले गरेका हुन् । तीन बर्षअघि नेपाल प्रहरीले कटन पाइन्ट र ऊलन सर्टको ठेक्का पाएको क्राउन टेक्सटाइलका संचालक पिताम्बर मुन्का र उनका म्यानेजर नरेन्द्रनाथ पौडेललाई गुणस्तर परीक्षणका त्रममा कीर्ते कार्य गरेको आरोपमा मुद्दा चलाएको थियो । मुन्का र पौडेल थुनामै परेका थिए । सेनाले गम्भीर रुपमा छानबिन गरे ठेकदार कारबाहीमा पर्ने निश्चित छ ।