Logo
Logo

फेवातालको संरक्षणमा सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण


126
Shares

पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवानं) पोखराको आयोजनामा आजदेखि पर्यटकीय सहर लेकसाइडमा सुरु भएको २३औँ संस्करणको सडक महोत्सवको उद्घाटन गर्दै उनले पोखरालाई सुन्दर रूपमा रहन दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्दछ । प्रदेश सरकारले समन्वय गर्ने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु । सङ्घीय सरकार पोखरालाई सदैव शान्त, सुन्दर राखिरहन प्रतिबद्ध छ ।’ फेवातालको संरक्षणका लागि आएका प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाए ।

उनले भने, ‘प्रतिवेदन कार्यान्वयनको क्रममा पोखरावासी दाजुभाइ दिदीबहिनीले साथ दिनुहोला । कार्यान्वयन गर भन्ने तर कार्यान्वयन गर्ने बेलामा भने यस्तो रिपोर्ट आएछ, थाहा भएन भन्ने नहोस् ।’

देशका विभिन्न भू–भागमा रहेका पर्यटकीय क्षेत्र २४सै घण्टा रेष्टुरेण्ट खुलोस् भन्ने चाहना सरकारको रहेको बताउँदै उनले त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

गृहमन्त्री खाँणले निरन्तर सेवा दिन सकिने ठाउँहरु तय भएको खण्डमा परीक्षणका रूपमा सुरु गर्न सकिने बताए । होटल रेष्टुरेण्टमा गएर प्रहरी प्रशासनले सहयोगी भूमिका निर्वाह गर्न गृहमन्त्री खाँणले निर्देशन दिए ।

‘२४सै घण्टा होटल रेष्टुरेण्ट खुला राख्न स्थानीय जनप्रतिनिधि र स्थानीय दाजुभाइ दिदीबहिनीलाई तपाईँले मनाउनुहोस्, खोल्न हामी तयार छौँ’, मन्त्री खाँणले भने, ‘होटल रेष्टुरेण्टमा गएर पुलिस प्रशासनले सहयोगी भूमिका निर्वाह गर्नुहोला, होटल रेष्टुरेष्ट बन्द गर्न तपाईँहरु जाने होइन, सुरक्षा आवश्यक परेमा मात्र जाने हो ।’

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तत्पर रहेको बताए । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशङ्का रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ बचाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्