काठमाडौं । गत बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब सवा तीन घण्टापछि मात्र बाहिरिए । त्यसबीच उनी र प्रधानमन्त्री तथा अर्काअध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल चल्यो । दुई शीर्ष नेताबीच एकान्त कुराकानीसमेत भयो । त्यसोतः पार्टी कामका सिलसिलामा प्रचण्ड बालुवाटार पुगिरहन्छन् । तर, सामान्यतया बसाइ लामो हुँदैनन् । बुधबारको लामो बसाइको कारण भने बेग्लै थियो । त्यसदिन प्रचण्डले बालुवाटारमा अलि धेरै समय नै बिताएका थिए । तर, फर्कंदा पनि उनी उस्तै उदास देखिन्थे । कारण थियो, पार्टी गठनको वर्ष दिन नहुँदै देखिएको गुटबन्दी फैलिँदै जानू ।
पार्टीभित्र अहिले देखिने गरी तीनवटा समूह (गुट) क्रियाशील छ । सतहमा ओली, प्रचण्ड र माधवकुमार नेपालले ती तीनवटा गुटको नेतृत्व गरेको देखिन्छ । तर, नदेखिने गरी आधादर्जनभन्दा बढी गुट छन् । तत्कालीन एमालेतर्फकै ओली, नेपालपछि गौतम र पोखरेल पनि शक्ति आर्जनमा छन् । पोखरेल त पछिल्लो समय खुलेरै लागेको देखिन्छ । यस्तै, प्रचण्डतर्फ श्रेष्ठ शुषुप्त रहे पनि रामबहादुर थापा बादल अर्को गुट चलाइरहेका छन् । ४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका २६ र पूर्वमाओवादीका १९ जना छन् । त्यसलाई पनि गुटमा विभाजन गर्दा ओली, प्रचण्डको नेपालको पक्षमा १२–१२ जना छन् । बाँकी ९ जनामध्ये गौतम, श्रेष्ठ र बादलनिकट ३–३ जना देखिन्छन् । ओलीका १२ भित्रै देखिने पोखरेले पूर्वएमालेतर्फका २६ मध्येबाट केहीलाई आफूतर्फ तान्ने र बलियो बन्ने दाउमा छन् । एमालेको ९औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ओलीलाई सहयोग गर्ने क्रममा अर्कोपटक अध्यक्षमा सघाउने बाचा गराएकाले पनि पोखरेल शक्ति आर्जनको खेलमा लागेका हुन् । तर, १०औँ महाधिवेशन नहुँदै एमाले र माओवादीबीच एकता भएकाले ओली त्यो बाचा पूरा गर्न सक्ने अवस्थामा छैनन् ।
वास्तवमै, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको वर्ष दिनभित्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चरम गुटबन्दी देखिएको छ । पार्टी एकताको कामसमेत नटुंगिँदै सतहमा देखा परेको गुटबन्दीबाट सायद दुवै अध्यक्ष चिन्तित छन् । तर, पार्टीलाई एक ढिक्का बनाउन खासै पहल भएको भने देखिँदैन । एकताका बाँकी कामलाई प्राथमिकतामा नराख्नुले त्यही देखाउँछ । नेकपा गठनको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो बन्न सकेको छैन । पोलिटब्युरो नबन्दा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत अवरुद्ध छ । जनसंगठनहरूको एकीकरण घोषणासँगै ३ जेठमा पोलिटब्युरो टुंग्याउने तयारी थियो । तर, ओली र प्रचण्डबीच गृहकार्य नपुगेको भनी पोलिटब्युरो घोषणा गरिएन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने सहमति थियो । तर, बैठक नै कहिले बस्ने नै टुंगो छैन ।
पोलिटब्युरो गठनपछि मात्र कार्यविभाजन गर्ने योजनासहित ५ जेठमा बोलाइएको बैठक नेताहरूको व्यस्तताको कारण देखाएर स्थगित गरिएको थियो । अनुशासन कमिटी, निर्वाचन आयोग, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कूल, कृषि तथा भूमिसुधारलगायत ३२ वटा विभाग बन्न सकेका छैनन् । १ सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ जना र पूर्वमाओवादीबाट ६६ जना रहने समझदारी छ । पछिल्लो बैठकमा अध्यक्ष प्रचण्डले गृहकार्यबाट अर्को सूचीसहित सचिवालय बैठकबाट पोलिटब्युरो गठन गर्ने भनेपछि स्थगित भएको थियो । पूर्वमाओवादीबाट पोलिटब्युरोमा रहने नेताहरूको नाम भने प्रचण्डले टुंग्याएका छैनन् । एक वर्षको अवधिमा केन्द्रीय समितिको बैठक एकपटक मात्र बसेको छ । पार्टी दर्ताका निम्ती निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने अभिप्रायले बसेको सो बैठक बसेको थियो । सचिवालयमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, स्थायी समिति सदस्य घनश्याम भुषाललगायतका नेताहरूले सार्वजनिक रूपमै ओलीको आलोचना गर्दै आएका छन् । विधि र पद्धति अवलम्बन नगरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत अध्यक्ष ओलीको आलोचना गर्ने गरेका छन् । तर, सुधार कतै देखिँदैन ।
सार्वजनिक आरोप–प्रत्यारोमा नेता
लामो समयसम्म बैठक नबस्ने, एकता नटुंगिने, सामूहिक छलफल र निर्णयको विधि प्रक्रिया अवलम्बन नहुने त छँदै थियो, पछिल्लो समय सार्वजनिक रूपमै केही नेता आफूविरुद्ध उत्रिएपछि प्रचण्डको चिन्ता बढेको छ । आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै नेताहरू आफूलाई बलियो देखाउन र अर्कोलाई खुइल्याउन तल्लिन देखिन्छन् । त्यसैक्रममा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डविरुद्ध पटकपटक आक्रामक अभिव्यक्ति दिएका छन् । राजनीतिक विचारधारासँग जोडेर प्रहार गर्न खोजिए पनि पोखरेलको निशाना प्रचण्ड नै भएको नेकपाका आम कार्यकर्ताले बुझेको हुनुपर्छ । नेकपाको भावी राजनीतिक लाइन के हुने भन्ने विषयको बहस आन्तरिक रूपमा पार्टीभित्र चलाउनुपर्नेमा सार्वजनिक कार्यक्रममा जुहारी चल्ने गरेको छ ।
यस्ता छन् गुट
पार्टीभित्र अहिले देखिने गरी तीनवटा समूह (गुट) क्रियाशील छ । सतहमा ओली, प्रचण्ड र माधवकुमार नेपालले ती तीनवटा गुटको नेतृत्व गरेको देखिन्छ । तर, नदेखिने गरी आधादर्जनभन्दा बढी गुट छन् । तत्कालीन एमालेतर्फकै ओली, नेपालपछि गौतम र पोखरेल पनि शक्ति आर्जनमा छन् । पोखरेल त पछिल्लो समय खुलेरै लागेको देखिन्छ । यस्तै, प्रचण्डतर्फ श्रेष्ठ शुषुप्त रहे पनि रामबहादुर थापा बादल अर्को गुट चलाइरहेका छन् । ४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका २६ र पूर्वमाओवादीका १९ जना छन् । त्यसलाई पनि गुटमा विभाजन गर्दा ओली, प्रचण्डको नेपालको पक्षमा १२–१२ जना छन् । बाँकी ९ जनामध्ये गौतम, श्रेष्ठ र बादलनिकट ३–३ जना देखिन्छन् । ओलीका १२ भित्रै देखिने पोखरेले पूर्वएमालेतर्फका २६ मध्येबाट केहीलाई आफूतर्फ तान्ने र बलियो बन्ने दाउमा छन् । एमालेको ९औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ओलीलाई सहयोग गर्ने क्रममा अर्कोपटक अध्यक्षमा सघाउने बाचा गराएकाले पनि पोखरेल शक्ति आर्जनको खेलमा लागेका हुन् । तर, १०औँ महाधिवेशन नहुँदै एमाले र माओवादीबीच एकता भएकाले ओली त्यो बाचा पूरा गर्न सक्ने अवस्थामा छैनन् ।
प्रचण्डको चिन्ता
ओली आफैँ पनि पुनः अध्यक्षको दाबेदार रहेको नेकपा वृत्तमा चर्चा चल्न थालेको छ । यी सबै कुराले प्रचण्डलाई चिन्तित बनाएको छ । एकताका बेला भएको सहमतिअनुसार ओलीले पार्टी नेतृत्वमा जानबाट रोक्ने हुन कि भन्ने आशंका र अन्योल प्रचण्डमा बढेको छ । त्यसकारण प्रधानमन्त्री ओलीसँग मिलेर जाने कि एमालेभित्रकै अर्को गुटलाई समाएर जाने भन्ने अन्योल प्रचण्डमा देखिएको छ । त्यसको संकेत उनका केही अभिव्यक्तिबाटै लगाउन सकिन्छ । ओलीप्रतिको विश्वास डगमगाएकै कारण उनले बेला बेला जंगल जाने कुरा वा लाखौँ कार्यकर्ताको बीचमा पनि एक्लै महसुस हुन थालेको कुरा गरेका हुन् ।
सरकार सञ्चालनमा कमजोरी
पार्टी यसरी गुटैगुटको शिकार बन्दै गएका वेला सरकार सञ्चालनसमेत प्रभावकारी हुन सकेको छैन । जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा दुईतिहाइ नेतृत्वको कम्युनिष्ट सरकार अलोकप्रिय बन्दै गएको छ । पार्टीभित्र सरकारको कार्यशैलीप्रति व्यापक असन्तोष छ । प्रधानमन्त्री ओली सानो घेरामा रमाइरहेका छन् । पार्टीमा प्रचण्डसहित नेपाल र खनालसमेत गरी तीन पूर्वप्रधानमन्त्री छन् । अरु दर्जनौँ नेतासँग मन्त्रालय चलाएको अनुभव छ । तर, ओलीले सचिवालयका केही सदस्यबाहेक अरुसँग सल्लाह गर्ने गरेका छैनन् । कतिसम्म भने नेताआफ्नै क्याबिनेटका उपप्रधानमन्त्री र मन्त्रीहरूले समेत भेट गर्न हप्तौँ कुर्नुपर्ने अवस्था छ । जसले गर्दा मन्त्रीहरूसमेत रुष्ट बनेका छन् । मन्त्रालयका सचिवलाई आफूहरूले नभई, प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको गुनासो मन्त्रीहरूले आफूनिकटहरूसँग गर्ने गरेका छन् ।
गम्भीर संकटको खतरा
यो भद्रगोलको अवस्थाले नेपालको इतिहासमा पहिलोपटक पाएको दुईतिहाइ बहुमतको सरकार नेतृत्व गर्ने अवसरलाई नेकपाले पूर्ण रूपमा सदुपयोग गर्न सकेको छैन । तत्कालै पार्टी एकताको काम टुंगोमा पु¥याइ सरकार सञ्चालनको गम्भीर समीक्षा नगर्ने हो भने पार्टी, समग्र आन्दोलन र मुलुक गम्भीर दुर्घटनामा जान सक्ने खतरा छ । संविधान जारी भएर निर्वाचित सरकार आइसकेको भए पनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र स्वार्थ नेकपा र नेकपा नेतृत्वको सरकार प्रतिकूल छ । यी सबै प्रतिकूलताको गम्भीर समीक्षासहित पार्टी, आन्दोलन, ऐतिहासिक उपलब्धि र राष्ट्रलाई जोगाउने अभिभारा मुख्यतः दुई अध्यक्षको काँधमा छ ।