नेपाली कला क्षेत्रमा निर्देशन र कोरियोग्राफीमा महिला नगन्यमात्र छन् । भएका समिति निर्देशक महिला पनि ओझेलमा छन् । उनीहरु भन्छन्, ‘पर्दा पछाडि काम गर्ने भएकाले आफूहरु चर्चामा नआएको’ उनीहरुको भनाइ छ । पछिल्लो समय काठमाडौं कलंकीकी सुनिता बस्नेत डान्स कोरियोग्राफीमा व्यस्त छिन् । तर, उनको चर्चा छैन । उनी म्युजिक भिडियोसमेत निर्देशन गर्छिन् । ‘महिलामा पनि निर्देशकीय क्षमता र भिजन हुन्छ’ भन्ने सोचका साथ सुनिता ८ वर्षयता डान्स कोरियोग्राफी र भिडियो निर्देशनमा सक्रिय छिन् । तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र केही चलचित्रमा कोरियोग्राफी गरिसकेकी सुनिता भन्छिन्, ‘एक कुशल कोरियोग्राफरसँगै फिल्म निर्देशक बन्ने मेरो लक्ष्य हो ।’ सुनितासँग दृष्टिको जम्काभेट :
डान्स कोरियोग्राफीमा लाग्नुभएको कति भयो ?
म्युजिक भिडियो र फिल्ममा काम गर्न थालेको ७ वर्ष भयो । त्यसअघि विद्यालयमा डान्स सिकाउँथेँ । तर, म्युजिक भिडियोमै व्यस्त हुन थालेपछि विद्यालयमा सिकाउन छाडेँ ।
कहिलेदेखि व्यवसायिक डान्सर बन्नुभयो ?
मैले २०५९ सालमा एसएलसी सकेपछि डान्सलाई व्यवसायिक रुपमा अँगालेकी हुँ । त्यसपछि विद्यालय र कलेजहरूमा डान्स सिकाउन थालेँ । त्यो समयमै म व्यवसायिक डान्सर भइसकेकी थिएँ ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि नाच्न रुचाउँथेँ । स्कुल पढ्दैदेखि विभिन्न स्टेज कार्यक्रमहरूमा नाच्ने गर्थे । तर, त्यो समय आफूलाई व्यवसायी बनाउन सकिनँ र सम्भव थिएन । जब एसएलसी सकाएँ, तब विद्यालयहरूले डान्स प्रशिक्षकका रुपमा बोलाउन थाले । डान्स मेरो पनि रुची भएकाले सिकाउन सुरु गरेकी हुँ ।
तपाईँले प्रशिक्षण कहाँ गर्नुभयो ?
थुप्रै ठाउँमा डान्स क्लास लिएँ । सुरुमा बागबजारमा सात महिना प्रशिक्षण लिएँ । त्यसपछि ‘वाई सेण्ड डान्स स्टुडियो’मा नेपाली र वेस्र्टन डान्स सिकेँ । त्यसपछि कुहिनुरमा साल्सा सिकेँ । मैले ८ वर्ष डान्स प्रशिक्षण गरेकी छु ।
तपाईँ सबै प्रकारका डान्स गर्नुहुन्छ ?
नेपाली, क्लासिकल, कथक र फ्रिस्टाइल त छँदैछ । त्यसबाहेक साल्सा र वेस्र्टन डान्स पनि गर्छु । म्युजिक भिडियोहरूचाहिँ प्रायः फ्रिस्टाइल प्रयोग हुन्छ । अहिले भिडियोबाहेक अरुलाई सिकाउने गरेकी छैन ।
कोरियोग्राफीमा महिला एकदमै कम छन् । सुरुमा तपाईँलाई कतिको गाह्रो भयो ?
थाहा नहुँदासम्म गाह्रै भयो । म्युजिक भिडियोमा कोरियोग्राफी गर्दा फेसिङदेखि क्यामेरा एगंलसम्मका ज्ञान चाहिन्छ । प्राविधिक ज्ञान विना निकै गाह्रो हुन्छ ।
महिला निर्देशक भएर काम गर्दा कलाकारले टेर्दैनन् भन्छन् नि ?
मलाई त्यस्तो अनुभव भएको छैन । अहिलेसम्म ३०-३५ वटा म्युजिक भिडियो र केही नेपाली फिल्ममा पनि काम गरेकी छु । कुनै समस्या भोगेकी छैन । म्युजिक भिडियो पनि निर्देशन गर्दै आएकी छु ।
नेपालमा महिला कोरियोग्राफर वा निर्देशक कति छन् ?
महिलाहरू निर्देशक र कोरियोग्राफर एकदमै कम छन् । जति छन्, उनीहरू पनि चर्चामा हुँदैनन् । हामी पर्दा पछाडिको कलाकार हो । त्यसैले पनि थाहा हुँदैन ।
म्युजिक भिडियो र फिल्मी कोरियोग्राफीमा कतिको फरक छ ?
खासै फरक छैन । भिडियोमा पनि कथाअनुसार डान्सप्ले गर्ने हो । फिल्ममा पनि डान्स नै हुन्छ । फरकचाहिँ कोरस राख्ने कि हिरो-हिरोइन मात्र नचाउने भन्नेमा छ । त्यो फिल्ममा मात्र नभएर म्युजिक भिडियोमा पनि हुन्छ ।
तपाइँको लक्ष्य के हो ?
यतिका वर्ष डान्समै बिताइसकेँ । अब कुशल कोरियोग्राफरका रुपमा आफूलाई चिनाएर फिल्म निर्देशनमा आउने सोच बनाएकी छु । अहिले पनि निर्देशन गर्न सक्छु भन्ने आँट छ । तैपनि तत्कालचाहिँ गर्दिनँ ।
यो क्षेत्रमा नयाँ पुस्ताको भविष्य छ ?
डान्समा भविष्य छ । मैले डान्स सुरु गर्दा रहर मात्र थियो । समाजले समेत नाच्ने मान्छेलाई राम्रो भन्दैनथिए । तर, अहिले अनलाइन, शोसल मिडियाहरू फेसबुक, युटुब र टिकटकले गर्दा पनि डान्सको भविष्य राम्रो देख्छु । विभिन्न डान्स प्रतियोगिता पनि हुँदै आएका छन् । अझै यस्ता प्रतियोगिताहरू हुनुपर्छ । जसले डान्समै करिअर बनाउन चाहनेलाई झन सजिलो हुन्छ ।