Logo
Logo

राजनीतिक हस्तक्षेपले खस्कियो सुरक्षा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । आइतबार दिउँसो धरानमा गोली हानेर चार लाख रुपैयाँ लुटिदै गर्दा चितवनमा घरभित्रै डकैती समूहको आक्रमणमा परेर एक व्यक्तिले ज्यान गुमाएका थिए । त्यसको केही समयमै राजधानीमा श्रृङखलाबद्ध रुपमा बम बिष्फोट भए । चार जनाले ज्यान गुमाए ।

देशको शान्ति सुरक्षा कसरी खस्कँदै गएको छ भन्ने कुरा अस्ति आइतबारका यी घटनाबाट प्रष्ट हुन्छ । अपराध बढ्दै जाँदा प्रहरी कमजोर बन्दै गएको छ । प्रहरीमा अत्याधिक राजनीतिक हस्तक्षेप बढ्दा फिल्डमा खटिने प्रहरीको मनोबल खस्किएको छ, जसको असर शान्ति सुरक्षामा देखिएको छ ।

पछिल्लो समय प्रहरीको सरुवा–बढुवा आईजिपीको हातबाट फुस्कदै गएको छ । नेताहरुलाई खुशी बनाउनेहरु संगठनमा हावी हुँदै गएका छन् । नेताहरुले नै आफ्नो जिल्लामा निकट प्रहरीलाई सरुवा गरेर लैजान थालेका छन् । त्यसरी सरुवा भएर गएका प्रहरीले शान्ति सुरक्षामा भन्दा पैसा कमाउनमा ध्यान केन्द्रित हुने गरेका छन् । एक पक्षलाई साथ दिने र अर्काे पक्षलाई पेल्नेजस्ता कुरामा प्रहरी प्रयोग हुने गरेको छ । जसले प्रहरी एकातर्फ विवादमा पर्दै गएको छ भने अर्काेतर्फ संगठित रुपमा अपराध हुने जोखिम बढ्दै गरेको छ । अहिले जिल्लाहरुमा सुरक्षा खस्कनुको एउटा कारण यो पनि हो ।

जस्तो कि आइतबार भएको सरुवामा चितवन जिल्लामा एसपी दानबहादुर मल्ललाई पठाइएको छ । मल्ल यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओ भएर लामो समय काम गरे । त्यसवापत दरबारमार्ग वृत्तको इन्चार्ज हुने अवसर पाए । लगत्तै बढुवामा पनि परे । बढुवाको केही महिनामै चितवन हाँक्ने अवसर पाएका छन् । चितवन आफ्नो गृहजिल्ला भएकाले प्रचण्डकै सिफारिसमा मल्ललाई चितवनमा सरुवा गरिएको हो । प्रचण्डका कार्यकर्ता जस्तो गरी लामो समय उनीसँग बसेका मल्लले चितवनमा कसरी निष्पक्ष भएर काम गर्न सक्लान् ? जनताको विश्वास कसरी जित्न सक्लान् ? तर, नेताका विश्वासपात्रहरुलाई यसरी उनीहरुको जिल्लामा पठाउन थालेपछि सुरक्षा खस्किएको हो । ‘सरुवा र बढुवामा इमान्दार र क्षमतावानहरु पछि पर्दै गएका छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘जब संगठनमा खराब प्रहरीहरु हावी हुँदै जान्छन् भने सुरक्षा कसरी बलियो हुन्छ ?’

इन्कान्टरको प्रतिशोधमा बम

देशमा अहिलेको सबैभन्दा ठूलो सुरक्षा चुनौती भनेको विप्लव समूहकै हिंसात्मक गतिविधि हो । जसले सर्वसाधरणमा द्वन्द्वको त्रास बढाएको छ भने यसबाट देशको अर्थतन्त्रलाई नै ठूलो धक्का लाग्ने चिन्ता व्यवसायीहरुको छ । तर, यो समस्याको समाधानलाई सरकारले कुटीलता अपनाउन नसक्दा हिंसा बल्झदै गएको छ । अझ सरकार र सो समूह प्रतिशोधको श्रृङखलामा लागेका छन् ।

प्रहरीको गोलीबाट भोजपुरका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको गत ८ जेठमा मृत्यु भएको थियो । त्यसैको विरोधमा विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको हो । बन्दलाई उनीहरुले हिंसात्मक बनाएका थिए । उपत्यकामा शक्तिशाली बमहरू राख्ने तयारी त्यो समूहले गरिरहँदा ‘दुर्घटनावश’ तीन ठाउँमा विस्फोट भएको प्रहरी अधिकारीहरू बताउँछन् । बिष्फोटमा मृत्यु भएका चारै जना सोही पार्टीका कार्यकर्ता हुन् भने घाइते सात जना पनि सोही पार्टीका हुन् । बिहान पड्काउन लागिएको बम दिउँसो नै बिष्फोट भएको थियो । तीनै जना प्रेसर कुकुर बम प्रयोग गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए ।

१० फागुनमा नख्खु विस्फोटयता सरकार र विप्लव समूहबीच हिंसाको प्रतिशोध शृंखला चलेको छ । १० फागुनमा एनसेलको कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले कमलपोखरीको आँगन रेस्टुरेन्टमा समेत बम राखेका थिए ।

त्यसयता हिंसाका घटना बढेका छन् । नख्खु विस्फोटको केही दिनमा काभ्रेमा सो पार्टीका नेता हेमन्तप्रकाश वलीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो । त्यस्तै नवलपरासीको शिवगढीमा २३ फागुनमा पनि प्रहरीले गोली चलाएको थियो । २४ फागुनमा वसुन्धरामा सो समूहले व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराएको थियो ।

त्यसपछि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने र आपराधिक समूहका रूपमा कारबाही गर्ने निर्णय गरेको थियो । २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएको थियो । तर, त्यसयता पनि हिंसाको शृंखला रोकिएको छैन । सरकारले पनि सो समूहका कार्यकर्ता पक्राउ गर्न पटकपटक गोली चलाउने गरेको छ । त्यसको प्रतिरोधमा सो समूहले विस्फोट गराउँदै आएको छ । आइतबारको शृंखलाबद्ध विस्फोटपछि सर्वसाधारणमा हिंसाको त्रास बढेको छ ।

गत १५ फागुनमा धरानमा अत्याधुनिक एलएमजी एकथान प्रहरीले बरामद गरेको थियो । सैन्य तालिमका लागि सो हतियारको ओसारपसार गरिएको थियो । गत फुागन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित शिवगढीमा हातहतियारसहित नेता–कार्यकर्ता लुकेको आशंकामा प्रहरीले बिहानै छापा मा¥यो । जहाँ प्रहरीले गोली समेत चलाएको थियो ।

यादव चन्दको घरबाट प्रहरीले एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउन्ड, ५।५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू १ बोरा ९२५ केजी बरामद भएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार सो समूहलाई प्रतिबन्ध लगाएयता तीन सय ७० जना नेता तथा कार्यकर्ताहरु पक्राउ परिसकेका छन् । जसमध्ये कतिपय जेलमा छन् केही धरौटीमा छुटेका छन् ।

गृहमन्त्रीमाथि प्रश्न

अपराध बढ्दै जानु र प्रहरी संगठन कमजोर हुँदै गएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को क्षमतामाथि प्रश्न उठ्न थालेको छ । सिंहदरबारकै छेउ अनामनगरमा आइतबार बिष्फोट भयो । सोमबार एकै पटक दर्जन ठाउँमा बिष्फोट गराउने योजना रहेको खुलेको छ । तर, प्रहरीले त्यसबारे कुनै सुराकी प्राप्त गर्न सकेन । बन्दको अघिल्लो दिन समेत किन विप्लवका कोही कार्यकर्ता पक्राउ पर्न सकेनन् भन्ने गम्भीर प्रश्न उठेको छ ।

अहिले हिंसा गर्ने विप्लव र गृहमन्त्री वादल कुनै समय मिल्ने साथी थिए । अहिले बादलका लागि उनै विप्लव मुख्य चुनौती बनेका छन् । विप्लवको समस्या एक दृष्टिकोणले राजनीतिक समस्या हो । त्यसकारण संवादको बाटोबाट समेत हल गर्नु जरुरी देखिन्छ । तर, सरकार आक्रामक बनेर कारबाही गर्ने र विप्लवले सर्वसाधरणलाई लक्षित गरी बम पड्काएर त्यसको प्रतिशोध लिन थालेका छन् । यसले विप्लव समूहप्रतिको सरकारको रणनीति फेल खाएको देखिन्छ । जसकारण गृहमन्त्री बादल समेत असफल बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्