Logo
Logo

लघुजलविद्युत् बगाउँदा गाउँ अन्धकार, पहिराले उठीबासको त्रास


1.6k
Shares

बेनी । धौलागिरि गाउँपालिका–२ लुलाङ भौगोलिकरूपमा विकट छ । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयवासीलाई आक्रान्त पारेको छ ।

सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २० गते आएको बाढीले लघुजलविद्युत् परियोजना बगाएपछि त गाउँ नै अन्धकार बनेको छ ।

परियोजनाको विद्युत्गृहसहित मुहान र बिजुलीको पोलसमेत बगाएपछि यतिबेला दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पूर्णरूपमा बन्द भएको छ । यसबाट गाउँका ३५४ घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । ४३ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजना बगाएर गाउँ नै अन्धकार बनेको अवस्थामा कात्तिक ५ गतेको पहिराले लमसुङवासीमा त्रास बढाएको छ । दरखोलाको कटानले बस्तीमुनिको पाखो बग्न थालेपछि चार घर विस्थापितसमेत भएका थिए ।

अहिले हिउँदयाम भएकाले पुनः सोही ठाउँमा बस्दै आए पनि पहिराको जोखिम नहटेको स्थानीय पलु पुनले गुनासो गरे । उनले भने, ‘हाम्रो उठीबास लाग्ने भएको छ, पहिरो जाँदा केही समय घर छाडेर निस्किएका थियौँ, अहिले वैकल्पिक बासको व्यवस्था नहुँदा पुनः पहिरोको जोखिमका बीच घरमा फर्किएका छौँ, तर अब यहाँ लामो समय बस्ने अवस्था देखिएको छैन, पहिरो रोकथामतर्फ केही काम सुरु भएको छै ।’

परोले ज्ञानबहादुर पाइजा, रनप्रसाद पाइजा, दलबहादुर राना र पलु पुनको घर उच्च जोखिममा छ । बस्तीसँगै रहेको स्वास्थ्यचौकी, पशु सेवा केन्द्र, हुलाक र लमसुङ माध्यमिक विद्यालयसमेत पहिरोको चपेटामा परेका छन् । दरखोलाकै कटानले मलसुङस्थित बगरका मनप्रसाद सुनार, अथमा बुढा, लिलबहादुर बुढा र कृष्ण गौचनको घरसमेत जोखिममा परेको छ ।

पहिराले करिब रु १५ करोडभन्दा बढीको भौतिक पूर्वाधारमा क्षति पु¥याउने जोखिम बढेका कारण तत्काल नदीको कटान रोकथाम र पहिरो नियन्त्रणको लागि ग्याबिन जाली लगाउने काम गर्नुपर्ने स्थानीय अगुवा ज्ञानबहादुर पाइजाले बताए ।

‘पहिले लमसुङ गाउँदेखि माथिको पहिरोले सतायो, त्यो पहिरो रोकिनसक्दै बस्तीमुनिबाट पहिराले त्रास सिर्जना गरेको छ, यो हिउँदमा तटबन्ध र ग्याबिन जाली लगाउने काम गर्न नसके आगामी बर्सातमा बाढी र पहिरोले गाउँमा ठूलो क्षति निम्त्याउने निश्चित छ’, उनले भने ।

स्वास्थ्यचौकीलगायतका पूर्वाधार बनाउन ठूलो सङ्घर्ष भएको स्मरण गर्दै उहाँले पहिरो रोकथाम नभए बस्तीसँगै स्वास्थ्यचौकीसमेत बग्ने जोखिम रहेको बताए । मुना–ढोरपाटन सडकले खोरियाको धराटोलको १३ घर पहिरोको जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

सिङ्गो वडाका अधिकांश बस्ती पहिरोको चपेटामा पर्दासमेत पहिरो नियन्त्रण र रोकथामका लागि कुनै पनि तहका सरकारले चासो नदिएको स्थानीयवासीको गुनासो छ । यसअघि लमसुङ गाउँको शिरबाट खस्न सुरु गरेको जुगेपानीको पहिरोले वर्षौंसम्म स्थानीयवासीलाई त्रासमा बस्न बाध्य बनाएको थियो ।

चार महिनादेखि सिङ्गो गाउँ अन्धकारमा

धवलागिरि–२ विगत चार महिनादेखि अन्धकार बनेको छ । गत भदौ २० गते अविरल वर्षासँगै आएको बाढीले स्थानीय ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बगाएपछि चार महिनादेखि गाउँ अन्धकार बनेको हो ।

लघुजलविद्युत् उपभोग गरिरहेका लुलाङ, लमसुङ, खोरियालगायतका बस्तीका स्थानीयवासी रातमा टुकीको सहारा लिनुपर्ने बाध्यतामा रहेको स्थानीय युवा भक्तबहादुर सिङ्किजा पुनमगरले बताए ।

उनका अनुसार बाढीले बगाएको लघुजलविद्युत् पुनःनिर्माणको काममा ढिलाइ भएको र केन्द्रीय प्रसारण लाइनको समेत पहुँच नभएकाले स्थानीयवासी थप समस्यामा परेका छन् । रातमा बत्ती बाल्ने समस्यासँगै स्थानीयस्तरमा रहेका घरेलु उद्योगसमेत समस्यामा परेका छन् ।

लघुजलविद्युत्को बिजुली प्रयोग गरी सञ्चालन भएका फर्निचर, कुटानीपिसानी मिल, बेकरी, मासु पसलसमेत प्रभावित बनेको स्थानीय प्रवीना विकले बताए । ‘रातमा गाउँका बालबच्चाले पढ्न पाउँदैनन्, फ्रिजमा राखेर बिक्री गरिने सामानको बिक्री वितरण प्रभावित बनेको छ, जतिसक्दो चाँडो लघुजलविद्युत् पुनःनिर्माण गर्न जरुरी छ’, उनले भने ।

मरेनीको फेदीमा विद्युत्गृह रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाउँदा करिब रु ३० लाखको क्षति भएको दोस्रो लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले जानकारी दिए । बाढीले परियोजनाको मुहानतर्फको कुलो र बाँधमा क्षति पु¥याएको छ ।

त्यसैगरी विद्यूतगृह पूर्णरूपमा बगाएको छ भने विद्युत्गृहका जेनेरेटर, एलसी बोर्ड, हिटरलगायतका उपकरणमा क्षति पुग्नुका साथै पाँच वटा बिजुलीका पोल बगाएको छ । यस परियोजनाबाट वडाभित्रका ३५४ घरधुरीले नियमितरूपमा विद्युत् सुविधा उपभोग गर्दै आएका थिए ।

विद्युत् सुविधा नहुँदा मोबाइल चार्ज गर्न, टेलिभिजनलगायतका सञ्चार सेवाको उपभोग गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ छ । यसअघि २०७३ सालमा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजना बगाएपछि क्षमतासमेत बढाएर मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरी २०७६ मा निर्माण गरिएको थियो ।

परियोजना पुनःनिर्माण गर्न २० लाख बजेट

बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पुनःनिर्माण गर्न रु २० लाख बजेट विनियोजन भएको छ । धौलागिरि गाउँपालिकाले रु १० लाख र प्रदेश निर्वाचन क्षेत्र ख का प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १० लाख बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिए । प्राविधिक सर्वेक्षणको काम गरेर बजेट विनियोजन गरिएको र पुनःनिर्माणको काम अघि बढाउने तयारी गरिएको अध्यक्ष पुनले बताए ।

दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख, गाउँपालिकाको रु ५० लाख र स्थानीयवासीको रु ३३ लाख बराबरको श्रमदानमा परियोजनाको निर्माण गरिएको थियो । केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको लुलाङमा मोटरबाटोको समेत पुग्न सकेको छैन ।

बजेटको व्यवस्थापन भइसकेको र पुनःनिर्माणको तयारी भएकाले आगामी दुई महिनाभित्रमा पुनः लघुजलविद्युत्बाट बिजुली उत्पादन हुने वडाध्यक्ष गमप्रसाद विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्