काठमाडौं । आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो । देशभर विभिन्न कार्यक्रम गरी यो जिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो ।
भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।
दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।