काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारणसभा पुस ३० गते शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब भद्रकालीमा भौतिक उपस्थिति एवं अनलाइन (जुम)मार्फत समेत एकैसाथ सञ्चालन भएको हो ।
साधारणसभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा रु. नौ अर्व तीन करोड ४४ लाख २९ हजार ५०२ मा ५.७५ प्रतिशतले हुन आउने रकम रु ५१ करोड ९४ लाख ७९ हजार ६९६.३९ पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. दुई करोड ७३ लाख ४१ हजार ३६ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ र १०८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।