Logo
Logo

शीर्ष नेता कोरोनासँग लड्दै, राजनीतिक गतिविधि ठप्प


3.7k
Shares

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशैभरी कोरोना संक्रमितको संख्या बढदै गएपछि राजनीतिक दलका गतिविधि ठप्प भएको छ । राजनीतिक दलका शीर्ष नेताहरु नै कोरोनाबाट संक्रमित भएपछि राजनीतिक दलका पूर्व निर्धारित कार्यक्रमहरुसमेत स्थगित गरिएको छ ।

सरकारले विद्यालय बन्द गर्नुका साथै सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएको छ । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आवश्यकताअनुसार लकडाउन गर्न सक्नेसम्मको अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिइसकेको छ ।

विभिन्न पार्टीका शीर्ष नेताहरु नै कोरोना संक्रमित हुन थालेपछि बैठक, सम्मेलन, भेला लगायतका कार्यक्रम स्थगित भएका छन् । पूर्व निर्धारित कार्यक्रम राजनीतिक दलले स्थगित गरेका छन् । कोरोना संक्रमित नेताहरु होम आइसोलेसनमा छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पूर्व निर्धारित प्रदेश अधिवेशन केही समयका लागि स्थगित गरेको छ । १०औँ महाधिवेशन सकेर हालै देशैभरी एकैदिन जिल्ला अधिवेशन गरेको एमालेले बिभिन्न कारण हुन नसकेको जिल्ला अधिवेशनसमेत स्थगित गरेको छ ।

एमाले प्रचार बिभागका उपप्रमुख विष्णु रिजालका अनुसार पछिल्लो समय पुनः कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएपछि पार्टीको प्रदेश अधिवेशन केही दिनका लागि स्थगित गरिएको बताए ।

यसअघि ८ माघमा तोकिएको अधिवेशन अब २८ र २९ माघमा हुने उनले बताए । यधपी, कोरोनाको संक्रमण बढदै गए पार्टीले यसबारेमा पुन अर्को निर्णय गर्न सक्ने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको बताए । पछिल्लो समय नेपालमा दैनिक रुपमा कोरोना संक्रमितको दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

एमालेको जिल्ला अधिवेशनमा सहभागि शिर्ष नेताहरु कोरोना संक्रमित भएका छन् । उनीहरु अहिले होमआइसोलेशनमा रहेका छन् । जिल्ला अधिवेशनमा सहभागि अधिकांश नेता कार्यकर्ता बिरामी पर्न थालेका छन् ।

एमाले उपाध्यक्षद्धय युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका शीर्षस्थ नेता कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेका छन् । उपमहासचिव प्रदीप ज्ञवाली कोरोनाबाट मुक्त भएर अहिले मधेशका बिभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागि भईरहेका छन् ।

एमालेका पोलिटब्यूरो सदस्य शान्ता चौधरी, नरुलाल चौधरी, सुजिता शाक्य पनि कोरोना संक्रमित भएका छन् । त्यस्तै केन्द्रीय सदस्य रमेश बडाल, पार्वती रावल, नविना लामालगायतका नेताहरु समेत संक्रमित भएका छन् ।

नेतृत्व चयनमा विवाद र कोरोना संक्रमण बढदैगएपछि पर्सा, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लामा अधिवेशन स्थगित भएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गएपछि पार्टीको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको राजनीतिक दलहरुले जनाएका छन् । माओवादी केन्द्रका नेता गणेश साहले कोरोना संक्रमितको संख्या बढदै गएकाले पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गर्नुपरेको बताए ।

माओवादीले २५ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवसहित शिर्ष नेताहरु नै कोरोना संक्रमित भएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको साहले बताए ।

बैठकबाट पदाधिकारी, स्थायी समिति गठन, पोलिट्व्यूरो, नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम थियो । तर माओवादीले जिल्ला स्तरको समेत कार्यक्रम स्थगित गरेको छ । पार्टीको आठौं महाधिवेशनमा देशैभरीबाट नेताहरु सहभागि थिए । जिल्ला–जिल्लाका नेताहरु समेत संक्रमित हुन थालेको खबर आईरहेका छन् ।

कांग्रेसले समेत पार्टीको बैठक, भेला, छलफललगायतका कार्यक्रम अहिले रोकेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतका काम गर्नुपर्ने भए पनि कोरोनाका कारण बैठक बस्न सक्ने अवस्था नभएको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेस शीर्ष नेताहरू कोरोना संक्रमित भएका छन् ।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई गत मंगलबार कोरोना संक्रमण भएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि अध्यक्ष नेपाललाई कोरोना संक्रमण लागेको पुष्टि भएको हो ।

‘परीक्षण गर्दा कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’

प्रवक्ता खतिवडाले पूर्व निर्धारित पार्टीको सबै कार्यक्रम स्थगित गरिएको बताए । केही समय पछि पुन पार्टीको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

अध्यक्ष नेपाल सहित एकीकृत समाजवादीका नेताहरु रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलको बैठक, छलफल, भेला लगायतका कार्यक्रम रोकिएको छ । जसपा कार्यकारिणी सदस्य मनिष सुमनले पार्टीको सबै कार्यक्रम अहिले स्थगित गरिएको बताए । लोसपा नेता संजय यादवले पार्टीको कार्यक्रम केही समयका लागि स्थागित गरिएको बताए ।

यधपी तराई मधेसमा जनमत पार्टीको जारी किसान आन्दोलन रोकिएको छैन् । एकपछि अर्को कार्यक्रम घोषणा गर्दै अध्यक्ष डा. सिके राउतले सडक आन्दोलनलाई बढाउँदै लगेका छन् । दैनिक रुपमा अन्दोलनका कार्यक्रम जारी नै रहेको जनमत पार्टीका नेता विपी साहले बताए ।

यता कतिपय पत्रकारहरु समेत कोरोना संक्रमित भएका छन् । राजनीतिक दलका बिभिन्न कार्यक्रममा सहभागि पत्रकारहरु समेत कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्