काठमाडौं । भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको तुलनामा १८.९ प्रतिशतले बढी हो ।
पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जना नयाँ सक्रमित थपिएका छन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।