Logo
Logo

भोजपुरी कलाकार यादवले भने- ‘आयोजकको गल्ती छ, मलाई क्षतिपूर्ति चाहियो’


39.9k
Shares

विराटनगर । भारतका भोजपुरी कलाकार खेसारीलाल यादवले आफूलाई आयोजकले धोका दिएको भन्दै क्षतिपूर्तिको माग गरेका छन् । मंगलबार सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर, उनलाई कार्यक्रममा सहभागी हुन स्थानीय प्रशासनले रोक लगाएपछि दर्शकको भीडले महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका थिए ।

जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके, त्यसपछि माात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाएका थिए ।

खेसारीलालले बुधबार पत्रकारहरुसँग भने, ‘म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’

तर, यता खेसारीलालको नाममा आयोजकले टिकट समेत बिक्री गरिसकेका थिए । खेसारीलाल कार्यक्रममा उपस्थित नभएपछि टिकट काटेकाहरूले हुलदंगा मच्चाएका थिए । उनीहरुले महोत्सवको स्टेज भत्काउनका साथै चारवटा गाडी जलाइ दिएका थिए ।

कलाकार खेसारीलालले भने, ‘यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नेपाल आएको थिएँ, तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मलाई जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको गल्ती छ, न त मेरो । पुरै गल्ती आयोजकको छ ।’ पुस २५ गतेदेखि सुरु भएको बर्जु महोत्सवको मंगलबार अन्तिम दिन थियो ।

पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएसँगै संक्रमण समेत बढ्दै गएकाले जिल्ला प्रशासन सुनसरीले दुई दिनअगाडि नै पत्र नै काटेर कार्यक्रम रोक्न अनुरोध गरेको थियो ।

माघ २ गते जिल्ला प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘हाल बढ्ने क्रममा रहेको कोभिड–१९ संक्रमण सम्बन्धी २०७८/९/२७ मा बसेको डिसिएमसी बैठकको निर्णय र यस कार्यालयबाट मिति २०७८/९/२७ मा जारी भएको आदेश कार्यान्वयनमा रहेकाले उक्त अनुमति आजैदेखि खारेज भएको व्यहोरा निर्णय अनुसार अनुरोध छ ।’

यस अनुसार आयोजकलै गल्ती देखिन्छ । तर, यसमा अहिलेसम्म महोत्सव आयोजकले केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्