काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गरेको हो । विजेता एपीएफले उपाधिसहित नगद पाँच लाख हात पारेको छ भने उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । ३६ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको उसको पारी कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि आरिफ शेखसँग ३७ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि दीलिप नाथसँग ५६ रनको साझेदारी गरे । तर अरु ब्याट्सम्यान चल्न सकेनन् ।
एपीएफका अविनाश बोहरा र किशोर महतोले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै पुलिसलाई लक्ष्यसम्म पुग्बाट रोके । महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफको पनि सुरुआत खराब थियो । ८१ रन जोड्दा ६ विकेट गुमाइसकेको उसको पारी तल्लो क्रमका ब्याट्सम्यानले सम्हाले र १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । कप्तान सरद भेषावकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका अमर रौतेलाले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरेर सर्वाधिक २९ रन बनाए ।