काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु लागेको महाशाखाको भनाइ छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने र चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।