गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव आफ्नो अभिव्यक्तिका कारण विवादमा आएकी छन् ।
बुधबार गौरमा भएको एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
जनता समाजवादी पार्टीकी नेता तथा मन्त्री यादवले कार्यक्रममा भनेकी थिइन्, ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर । लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’
७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।
बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’
बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले यस्तो चेतावनी दिएकी हुन् ।