Logo
Logo
कला

जीवनमा आत्तिनु र मात्तिन हुँदैन


26.8k
Shares

‘मिसेस नेपाल वल्र्ड–२०२१’मा पाटिसिपेन्ट भएसँगै माधुरी कर्णलाई जिम्मेवारी बढेको छ । शीर्ष ताज त जितिनन्, तर, तीन वटा टाइटल नै माधुरीका लागि काफी बन्यो । उनी भन्छिन्, ‘उपाधि जित्नु नै ठूलो कुरा होइन, सिक्नु ठूलो हो ।’ सानैदेखि मोडलिङ रुची राख्दै आएकी वीरगञ्जकी २९ वर्षीया माधुरी हालै काठमाडौंमा सम्पन्न ‘मिसेस नेपाल वल्र्ड’मा भ्युअर्स च्वाइज र बेस्ट स्माइल टाइटलसहित ‘टुरिजम एम्बेस्डर मधेस प्रदेश’ बनिन् । टुरिजम एम्बेस्डर बनेसँगै उनले ‘मधेश प्रदेशलाई टुरिजम सेक्टरमा परिचित गराउने उद्देश्य लिएकी छन् । कुनै समय उनी ‘मिस नेपाल’ बन्न चाहन्थिन् । तर, त्यो इच्छा ‘मिसेस नेपाल वल्र्ड’मा सहभागी भएपछि पूरा गरेकी छिन् । अध्ययन र पेसाले विजनेश डेप्लभमेन्ट म्यानेजर माधुरीसँग दृष्टिको जम्काभेट :

‘मिसेस नेपाल वल्र्ड’मा पाटिसिपेन्ट गर्ने सोच कसरी आयो ?
म सानैदेखि मोडलिङ र अभिनयमा रुची राख्थेँ । त्यो कुरा मेरो श्रीमानलाई पनि थाहा थियो । त्यसैले एकदिन गफ गरिरहेका बेला ‘मिसेस नेपाल वल्र्ड’मा जाने कुरा भयो । त्यसपछि पाटिसिपेन्ट भएकी हुँ ।

विवाहअघि सौन्दर्य प्रतियोगितामा किन जानु भएन ?
जाने इच्छा थियो । त्यसैले एक समय ‘मिस नेपाल’मा पाटिसिपेन्ट गर्ने तयारी गरेकी थिएँ । तर, त्यहीबेला अध्ययनका लागि भारत गएँ । मैले बैंग्लोरबाट बिएमए गरेकी हुँ । त्यहाँबाट आएको केही महिनामै विवाह भयो । त्यसैले ‘मिस नेपाल’मा पाटिसिपेन्ट गर्न पाइनँ ।

‘मिसेस नेपाल वल्र्ड’मा सबटाइटलमै चित्त बुझाउनुपर्यो होइन ?
हो, तर खुसी छु । उपाधि जित्नु नै ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा ज्ञान र सिप हासिल गर्नु हो । हुन त सबैजना उपाधि जित्नकै लागि प्रतियोगितामा पाटिसिपेन्ट भएका हुन्छन् । हामी जम्मा २४ जना प्रतियोगी थियौँ । त्यसमा तीन वटा टाइटल मेरो लागि काफी छ । प्रदेश २ को टुरिजम एम्बेस्ड बन्ने मौका पाएकी छु । यो नै मेरो लागि सबैभन्दा खुसीको कुरा हो ।

पहिलोपटक मोडलिङसम्बन्धी गु्रमिङ गर्दा कतिको असहज भयो ?
सुरुमा निकै अहसज भयो । त्यसमाथि खाने र आराम गर्ने समयसमेत भएन । तैपनि धैर्यताका साथ गु्रमिङ क्लास लिएँ । र, टाइटल पनि पाएँ ।

प्रदेश २ को टुरिजमबारे के योजना बनाउँदै हुनुहुन्छ ?
प्रदेश २ पर्यटनका लागि उर्वरभूमि हो । प्रदेश २ लाई मन्दिरैमन्दिर र तालैताल भएको प्रदेश भनेर चिनिन्छ । तर, ती धार्मिक तथा पर्यटकीय स्थानहरूको उचित प्रचार हुन सकेको छैन । त्यसैले ती पर्यटकीय स्थानहरूलाई कसरी प्रचारमा ल्याउने र पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भनेर योजना बनाउँदै छु ।

प्रदेश २ मा त्यस्तो के छ, जसलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ?
धेरै छन् । राम सीताले विवाह गरेको स्थान प्रदेश २ मै छ । त्यसबाहेक १०८ वटा ताल–तलाउहरू छन् । अहिले प्रदेश २ मै दक्षिण एसियाकै ठूलो मानव निर्मित कृतिम तलाउ बन्दैछ । जसलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

फिल्मका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?
त्यो अवस्था हेरेर हुन्छ । यदि, सोचेजस्तो फिल्ममा प्रस्ताव आयो भने काम गर्न सक्छु । तर, मैले काम गर्ने फिल्म नारीप्रधान हुनुपर्छ । हुन त मेरो क्षेत्र विजनेश डेप्लभमेन्ट हो । त्यसैले अभिनयलाई प्राथमिकतामा राखेकी छैन ।

मधेशका महिला पछिपरेका छन् भनिन्छ । तपाईंको राय के छ ?
म मधेसकी भए पनि पहाडमै हुर्केकी हुँ । मैले देखेको र बुझेअनुसार मधेशका मात्र होइन, आम नेपाली नारी पछिपरेका छन् । अझैसम्म हामीले आफ्नो आवाज उठाउन सकेका छैनौँ । हामी महिलाहरू अझै आफ्नो आवाज उठाउन डराउँछौँ । यसैले महिलाहरू जागृत हुन जरुरी देख्छु ।

मधेशको विद्यमान समस्याका रुपमा रहेको दाइजोप्रथाबारे के भन्नुहुन्छ ?
म, मेरो माइती र ससुराल नै दाइजोप्रथा विरोधी हौँ । त्यसैले मैले विवाह गर्दा दाइजोको कुरै भएन । यो कुप्रथा हो । यसको मुख्य कारक शिक्षाको कमी हो । छोरीलाई पनि शिक्षित बनाउनुपर्छ भन्ने सबैमा सोचको विकास भए दाइजोप्रथा आफैं निमूल हुँदै जान्छ ।

तपाईँको बुझाइमा जीवन के हो ?
जीवन एउटा प्लेटफर्म हो । त्यसैले जस्तो परिस्थितिमा पनि आत्तिनु र मात्तिन हुँदैन । परिस्थितिको सामना गर्न सक्नु नै जीवनको सफलता हो ।

प्रतिक्रिया दिनुहोस्