काठमाडौं । नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । महिलामा उद्यमशीलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पु¥याउने उद्देश्यले उक्त सम्झौता भएको हो ।
नेपाल उद्योग परिसंघ (सिएनआई)को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छायाँ शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बोल्दै नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तीकरण हो, महिलाको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे । हस्ताक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएकी नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालको बीच पुलको काम गरेकामा धन्यवाद ज्ञापन गर्दै उक्त सम्झौताले महिलाको आर्थिक विकाससँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पु¥याउने बताइन् ।
वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरि महिला सशक्तीकरण र महिला नेतृत्वको विकाससम्बन्धी काम गर्दै आइरहेको छ ।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ ।