Logo
Logo

भ्रष्टाचारका कीर्तिमानीहरुलाई सम्मानको आशा !


11.3k
Shares

अर्थतन्त्रको हतासोले यो देशमा सधैं साहु महाजनकै गुन्द्री बुन्न थालेदेखि चिसो भुइँमा रात काट्ने निर्धाजनको संख्या ह्वात्तै बढेको छ । सत्ता स्वार्थको रंग मिलाएर साहुहरू पटक–पटक तालुमा आलु फलाइरहेका छन्  । जनतालाई भने जहिल्यै ‘माछो–माछो भ्यागुतो’ बनाइरहेका छन् ।

दिन दुईगुणा र रात चार गुणाका दरले भ्रष्टाचारमा छलाङ हान्नेहरू ‘भ्रष्टाचारीलाई घृणा गर्नुस्’ भन्दै जनतालाई अर्ति–उपदेश दिन्छन् । हुन त खुल्लमखुल्ला ‘मलाई घृणा गर’ भन्न सक्ने उनीहरूको आँटलाई पनि मान्नैपर्छ । यत्तिका नमूना नेताहरू विश्वभूगोलमा अन्त कहाँ पाइएलान् ।

देशमा नीतिगत भ्रष्टाचार मौलाइरहेको प्रष्टै छ । राष्ट्रको ठेक्का लिनेहरूले यसको बडो जतनका साथ मलजल र गोडमेल गरेर स्याहारसुसार गरिरहेका छन् । सारमा एकात्मक राज्य व्यवस्थाको शिरफुल लगाएर रूपमा गणतन्त्र भट्याउनेहरूले भ्रष्टाचारका ठूल्ठूला कीर्तिमानहरू कायम गरेका छन् ।

अचम्म त यो छ कि– जसले रातभर देशघाती तमसुकमा हस्ताक्षर गर्छन्, उनै अनुहार घाँटीमा रुद्राक्ष झुड्याएर दिनभर अवतारी बन्छन् । आफ्नै वरिपरि भ्रष्टहरूलाई परेड खेलाउँदै ‘भ्रष्टाचारीलाई घृणा गर्नुस्’ भन्छन् ।

३० वर्षअघि सत्तामा जो थिए, आज पनि तिनै छन् । व्यवस्था परिवर्तन भएसँगै उनीहरू परिवर्तित रुप लिएर आज पनि सत्ताकै थुन चुसिरहेका छन् । हिजोे लुकेर गर्ने काम आज हाकाहाकी गर्छन् । हिजो कानुनको छिद्र खोजेर भ्रष्टाचार गर्नेहरू आज नीतिगतरुपमै गर्छन् । जसलाई अख्तियारले पनि छुन सक्दैन ।

हामीचाहिँ कुन व्यवस्था ठीक हो ? भन्ने व्यर्थको बहसमै अलमलमा छौं । व्यवस्था खराब होइन, व्यक्ति खराब हो । यो कुरा त देखेको भोगेकै कुरा हो ।

‘भ्रष्टाचारलाई घृणा गर्नुस् तर भ्रष्टाचारीलाई माया गर्नुस । तस्करलाई कारबाही गर्नुस् यद्यपि, माफियालाई सम्मान गर्नुस् । संसद् बहिष्कार गर्नुस् परन्तु भत्ता नलजाएरै स्वीकार गर्नुस् ।’ क्या तरिकाको राजनीति छ हाम्रो देशमा ।

भर्खरै अख्तियारले इमानदारपूर्वक अभियान चलाउने हो भने देशका ९० प्रतिशत भ्रष्ट नेता तत्काल सर्लक्कै जेल जान्छन् । विडम्बना, त्यही अख्तियारमा समेत अनियमितताको आरोप लागेर हुर्किएकाहरूकै बाहुल्य छ ।

जेनतेन अख्तियारले त कारबाहीको सिफारिस गर्ला । उता, अदालतको गोठमा दलकै दाम्लोले बाँधिएको कानुनले उनीहरूलाई दुई–चार दिन सुम्सुम्याउँछ र उन्मुक्ति दिन्छ ।

खोलानाला, ढुंगा, गिट्टी–बालुवा र जडिबुटी सबै बेचे । उद्योग, कलकारखाना सिध्याए । नारायणहिटीलगायत देशका कयौं भौतिक सम्पत्ति कौडीको भाउमा बतासमा उडाएको सार्वजनिक भयो । यिनलाई कल्ले कारबाही गर्ने ? यो सम्भ्रान्तहरूको हालिमुहाली रहेको कस्मेटिक राजनीतिक संसारभित्र जनस्तरको विरोधाभाष कसले सुनिदिने ?

दक्षिणबाट छिमेकी नामधारी दुष्टले आँठो ताछेर भान्सामै छिर्न थालिसक्यो । परन्तु, उनलाई रत्तिभर खिन्नता र हिनतावोध छैन । बरु दरबारको पटाङ्गिनीमा सुशासन नामको गलैँचा ओछ्याएर उहीँ मिचाहा छिमेकीको स्वागतार्थ तम्तयार भएर बसेका छन् ।

सायद, त्यो छिमेकी नामधारी लुछाहसँगै केही थान सुट्केश पनि साथमै लिएर भित्रिनेछन् । उता छेउँमै घुम्टो ओढेर बसेको भ्रष्टाचार शब्द यो पत्तो पाएदेखि अर्धचेत अवस्थामा उत्तानो परेको छ ।

यिनीहरूको लागि समृद्धि आइसक्यो । समाजवाद भरेभोलि ब्याउने बेला भएको छ । हामीजस्ता मुर्खहरूले भविष्यवाणी नपत्याएर के फरक पर्छ ? सुसारेहरू बिगौती खान हानथाप गरिरहेका छन् ।

उनीहरूको नजरमा पानीट्यांकीमा पैसा नभर्ने, महाकाली नबेच्ने, बालुवाटार नपचाउने, यती, ओम्नीको कमिशन ननिल्ने, नारायणहिटीमा ‘बतास’ नउडाउने सबै गैरकम्युनिष्ट हुन् । देशघाती हुन् । समृद्धिको लालटिन खोज्न आन्दोलनमा गोली निलेकाहरू फगत बुद्धि नासिएका हुन् । उनीहरूका सपना त झन् भजाइखाने आम्दानीका अचुक अस्त्र नै हुन् ।

आफ्नो अतीतको थोरै पनि हेक्का छैन । आफ्नो धरातलको प्रवाह छैन । जनताछेउ गरेका बाचा याद छैन  । हेक्का छ त केवल ठाँटबाँटको । सान–सौकतको । बिलास–मस्तीको । रोब–रबाफको । दम्भ अनि उत्दण्डको ।

करिब साढे तीन वर्षसम्म देशको नेतृत्व सम्हाल्दा १०–१५ जना मान्छे बटुल्ने र उखान भट्याएर लोक हँसाउनेबाहेक केही उपती देखियो त दुईतिहाइको ?

दुनियाँमा कुनै पनि मुलुकका जनताले भ्रष्टहरूलाई सम्मान गरेको उदाहरण छैन । बरु जनता लुटेर हिनहिनाएको देशमारा प्रवृत्तिलाई समसानघाटमै पुर्याएको गर्विलो इतिहास हाम्रै सामुन्नेमा छ ।

त्यसैले ‘भ्रष्टाचारीलाई घृणा गर्नुस्’ भनेर २१औँ शताब्दीका नेपाली जनतालाई सिकाइराख्नु जरुरी छैन । महाकाली सन्धी र सम्झौता गर्दा नै कालापानी, लिपुलेक, लिम्पियाधुरा बिक्री गरिसकेका देशका दलालहरूलाई हामी कसरी सम्मान गर्न सकौँला ?

प्रभुकै सल्लाहमा नाकाबन्दी लगाएर राष्ट्रवादी ठहरिँदै सत्तामा पुगेपछि देखाएको तमासालाई कसरी हो हजुर भनौँला ? अन्य तमाम शिलान्यासका नाममा भएका भ्रष्टाचार, उद्घाटन गर्ने बहानामा गरिएका भ्रष्टाचार, भ्याक्सिन ल्याउने नाममा रचित भ्रष्टाचार र औषधि उपचारको नाममा समेत ब्रह्मलुट मच्चाउने भ्रष्टहरूलाई सम्मान गर्न त सायद हामीलाई बहुलाह कुकुरले नै टोक्नु पर्ला ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्