Logo
Logo

हिमालय एयरलाइन्स आईएसओ प्रमाणपत्र पाउने नेपालकै पहिलो


2.3k
Shares

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा संचालित हवाई कम्पनी हिमालय एयरलाइन्सले आइएसओ ९००१ः२०१५ प्राप्त गरेको छ ।

यसरी आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने हिमालय एयरलाइन्स नेपालकै पहिलो एयरलाइन्स हो ।

एयरलाइन्सको व्यवस्थापन प्रणाली आइएसओको मापदण्डअनुरुप भएकाले आइएसओ ९००१ः२०१५ प्राप्त गरेको हो ।

एयरलाइन्सले यात्रु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेवापत उक्त प्रमाणिकरण प्राप्त गरेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

आईएसओ ९००१ः२०१५ लाई विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा (आईएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ ।

आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (युकेएएस्)ले हिमालायलाई प्रदान गरेको हो ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताएका छन् ।

व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एयरलाइइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो भने अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।

हाल यस एयरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ ।

एयरलाइन्सले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । छिट्टै ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरमा समेत सेवा सञ्चालन गर्ने हिमालयको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्