काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफू पार्टी महासचिवको लागि योग्य भएको बताएका छन् । चीनमा स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्किएका नेता पुनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
आफूले महासचिवमा दावी गरेपनि सहमतिकै आधारमा जिम्मेवारी बाँडफाट हुने उनले विश्वास गरे । उनले भने, ‘विगतमा सचिव भएर काम गरेकाले हुनाले स्वाभाविक रुपमा महासचिवमा दावी गरेकै हुँ । तर, आब पार्टीमा छलफल गर्दै गर्दा नेताहरुको विभिन्न जिम्मेवारी कहाँ फिट हुन्छ, त्यो सहमतिबाटै गर्न सकिन्छ भन्ने लाग्छ ।’
केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए । तर, सकेसम्म सहमतिबाटै महासचिव छानिने उनले बताए ।
सहमतिबाटै सबै जिम्मेवारी टुंगो लाग्ने भए आफू मान्न तयार भएको तर प्रतिस्पर्धा भए आफू पनि सहभागी हुन्छु भनेर पार्टी र अध्यक्षलाई कुरा राखेको उनले सुनाए । उनले भने, ‘सहमतिबाटै हुन्छ भने म मान्छु । प्रतिस्पर्धात्मक जस्तो हो । आन्तिरक जनवाद हो भने म पनि सहभागी हुन्छु, मैले पनि अवसर पाउनुपर्छ भनेर मैले आफ्नो कुरा राखेको हो ।’
आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको उनले प्रतिबद्धतासमेत जनाए ।
उनले आफूले नयाँ जिवन पाएको महसुस गरेको पनि बताए । उनले भने, चार महिना जित उपचार गर्दा शारीरीक रुपले थकान, कम्जोर महसुस हुने नै भयो । र, यसबाट मैले नयाँ जिवन पाएको महसुस गरेको छु ।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि पार्टीकै निर्णयमा चिनमा उपचारको लागि आफू गएको पनि उनले बताए । उनलाई मंसिर १० गते चीन लगिएको थियो ।