काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्नुपर्नेे तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्नका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त कार्यका लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच माघ १२ गते द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी साधारण शेयर निष्काशन गरिने सम्झौता गरेको छ ।
धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । २०७८ पुस मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयमार्फत कुल १९१ कर्मचारी परिचालन गरी ३४ हजार ४३८ सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ रु १ अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ रु ६२ करोड १४ लाख रहेकामा अन्तर बैंक सापटी रु ६१ करोड ८० लाख रहेको छ ।
हाल चुक्ता पूँजी सात करोड रहेकामा सार्वजनिक शेयर निष्काशन भएपश्चात् रु १० करोड चुक्ता पूँजी कायम हुनेछ । हाल जगेडा तथा कोषतर्फ कुल रु १० करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु २ करोड ६० लाख रहेकामा पुस मसान्तसम्मा आइपुग्दा उक्त वितरण योग्य मुनाफा रु ४ करोड ९ लाख पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु. ५०.१२ भन्दा बढी कायम गरेकामा पुस मसान्तसम्ममा आइपुग्दा रु ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी गराएका छन् ।