काठमाडौं । ईन्जिनियर तथा कवि गणेशराज वस्तीको ‘परेली–तरेली’ नामको नयाँ कवितासंग्रह बजारमा आएको छ । कवि वस्तीले ‘परेली-तरेली’मा एक सय कविताहरुलाई दुई खण्डमा विभाजित गरेका छन् । खण्ड ‘क’ र ‘ख’मा गरी कृतिमा १३ वटा उपखण्ड छन् ।
खण्ड ‘क’लाई ‘सपनाका परेलीहरू’ र खण्ड ‘ख’लाई ‘सम्झनाका तरेलीहरू’ नाम दिइएको छ । ‘सपनाका परेलीहरू’मा ‘मुस्कान’, ‘इच्छाइएको चिज’, ‘भाग्य, भविष्य र कर्म’, ‘ग्लानी, डर, वितृष्णा’, ‘मनका कुरा’, ‘प्रेमजन्य दृश्य’ र ‘आशैआशमा’जस्ता सात वटा शीर्षकमा कविता पस्किएको छ ।
यस्तै, कृतिमा ‘सम्झनाका तरेलीहरू’मा ‘मातृत्व’, ‘चिप्लेटीको ओरालोमा’, ‘लाङ्दीको सेरोफेरो’, ‘मानिस-जीवन यस्तै’, ‘द्वन्द्व’, ‘प्रकृतिका अवयव स्मरण’ कविता समावेश छन् ।
कवि वस्तीले कविता संग्रहमा जननी र जन्मभूमिप्रति अगाध श्रद्धा प्रकट गरेका छन् । उनले कवितमा आफ्ना बाल्यकालका मीठा स्मृतिहरूलाई सुन्दर ढंगले सजाएका छन् । बुबाआमा, आफू जन्मिएको ठाउँ र नेपाल आमाको माया र ममतालाई मार्मिक ढंगले उनले कवितमा प्रस्तुत गरेका छन् ।
कोरोना महामारीबारे पनि उनले चिन्ता व्यक्त गरेका छन् । कविले जन्मठाउँका भीरपाखा तथा बाल्यकालमा बिताएका क्षणहरूको स्मृतिले कविता पढ्ने जो कोहीलाई आफ्नो बाल्यकालको झल्को दिनसक्छ ।
कवितामार्फत वस्तीले जिन्दगीमा बाटो बिराउन लागेमा आफूलाई तानेर ट्रयाकमा ल्याउनुपर्ने र त्यसो हुन नसके ठूलो सजाय भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् । उनले आफू सत्तामा हुँदा सबै ठीक देख्ने र सत्ताबाहिर हुँदा सबै बिग्रिएको देख्ने नेपाली राजनीतिक कुसंस्कारमाथि समेत व्यंग्य प्रहार गरेका छन् । जनता सधैँ निरीह हुने, निर्वाचनको बेला फुरुक्क हुने अनि फेरि सधैँ गनगन गर्ने विषय वस्तीले आफ्ना कवितामा उठाएका छन् ।
पर्दापछाडि हुने खेल, मुखमा रामराम बगलीमा छुरा परिपाटीलाई समेत उनले उजागर गरेका छन् । पेसा इन्जिनियर भएकाले कवितामा टनेल, शौचालय, रेलमार्ग, पुलजस्ता इन्जिनियरिङ शब्दहरू समेत उनले प्रयोग भएका छन् । कविले जागिरका क्रममा पुगेका विभिन्न ठाउँहरू कवितामार्फत चित्रण गरेका छन् ।
एउटा अंग्रेजी र बाँकी नेपाली भाषामा लेखिएका कविता संग्रहका अधिकांश कविताहरू गद्य छन् । कतिपय कवितामा पद्य रूप दिन कोशिश गरिएको छ ।
साथै कवि वस्तीले हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन एमाले नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पनि स्मरण गरेका छन् । कवि वस्तीले अधिकांश कवितमा सरल र सरस भाषामा आफू जन्मको स्थान र वरपरका परिवेश, बाल्यकालका परिदृश्यहरू पस्केका छन् । जसले पाठकलाई कविता पढिरहँदा आफ्नै भोगाइका कथा लाग्न सक्छ ।