Logo
Logo

मुखले रोटीबेटी, व्यवहारले केटाकेटी


2.7k
Shares

हाम्रो माटोले उहिल्यैदेखि नै दक्षिणी छिमेकीको बलमिच्याइँ सहँदै आएको छ । यो माटो उसका क्रूर पञ्जाहरुबाट कयौंपटक चिथोरिएको छ ।

बेलुकी नेपालमा निदाएका सीमावासी बिहान भारतमा उठेका थुप्रै यथार्थहरु हाम्रो सामुन्ने छन् । पटकपटकको वैदेशिक हस्तक्षेपले देश मर्माहत बनेको छ । यही माटोको सुगन्ध आफ्नो शरीरमा पोतेर मातृभूमिको रक्षार्थ उभिएकै कारण कयौं गोविन्द गौतमहरूले बन्दुकको गोली निलेका छन् ।

अटल स्वाभिमान लिएर विदेशी दबदबाविरुद्ध उभिने सीमावासीले निरन्तर ज्यादति खेपिरहेका छन् । यद्यपि, यो विषयमा न त्यो सरकारले केही पहल गर्याे, न यो सरकारले कुनै तदारुकता देखाउने छ । यिनीहरुको जिब्रोमा झुन्डिएको ‘कुटनीतिक पहल’ सायद वर्षौँदेखि कोमामा घिटिघिटी गरिरहेछ ।

किनकि, यो देशका सत्ताधारीहरु स्वाभिमानको गला रेटिँदा सधैँ छिमेकी रिसाउला भनेर तर्सिरहेका हुन्छन् । आफैँ राष्ट्रियताको धज्जी उडाउँदै सत्ताको खुशी मुस्कुराइरहेका छन् । सायद माटो बेचेको जितौरी धन हुनुपर्छ, बुइगलमा बसेर निरन्तर गनिरहेका छन् । राष्ट्रलाई आपत पर्दा आम जनताका सपनाको सिरानी हालेर गहिरो निद्रा निदाइरहेका छन् ।

भनिन्छ, कुरा काट्ने मित्र र आँठो ताछ्ने छिमेकी भएको समाजमा जहिल्यै अशान्ति पैदा भइरहन्छ । भारतीय रक्षामन्त्रीले पटक–पटक बोले र सडक उद्घाटन गरे ।

पछिल्लोपटक मोदीले पनि लिपुलेकसम्मको सडक बनाएकामा छाती ठोकेका छन् । हिन्दी, संस्कृत र अंग्रेजी भाषामा नयाँ नक्सा प्रकाशन गरेर भारतले महाकाली नदी नै गायव गरेको छ । परन्तु आफूलाई अब्बल र प्रखर राष्ट्रवादी दाबी गर्ने नेपाली राजनीतिक दल र नेताहरु एउटा विज्ञप्ति निकाल्नसमेत खुट्टा कमाइरहेका छन् ।

एक मुठ्ठी हिम्मत जुटाएर जेनतेन सरकारका एकजना मन्त्री अस्ति क्यामेरा अघि उभिएर बोलिरहेका थिए । त्यहाँ पनि उही कूटनीतिक पहलभन्दा अर्को शब्दावली भेटिएन । उनी बोल्दै गर्दा लाग्थ्यो– उनलाई हनहनी ज्वरोको रापले पोलेको छ । उनको हाउभाउ ठ्याक्कै नयाँ भित्र्याइएकी बुहारी सासू–ससुराका अघि कामिरहेको लवजमा बोलेझैँ अथवा कसैले जबर्जस्ती बोल्न लगाएझैँ थियो । अघिपछि आफूलाई बाघ भन्नेहरु लुसुक्क परेर म्याउँ गरेको फिटिक्कै सुहाउँदैन । म्याउँ गर्ने त बिरालोले पो हो त ।

उसो त आफ्ना छिमेकी देशहरुप्रति भारतले देखाउँदै आएको यो व्यवहार नयाँ होइन । अझ नेपालको हकमा त उसलाई बानी नै परिसकेको छ । कश्मिरमा नेपाली युवाहरु तेस्र्याएर निदाउन पाएको दिल्लीलाई तह लगाउन अब कूटनीतिक पहलले मात्रै केही उपति लाग्ने देखिँदैन । यसको अर्थ भारतसँग बन्दुक नै बोकेर लड्नुपर्छ भन्न खोजिएको होइन ।

एकपटक उसलाई राम्रोसँग सुझाउन त सकिन्छ नि । त्यसपछि उसका गतिविधि हेरेर प्रक्रिया पुर्याउँदै अन्तर्राष्ट्रियरुपमै भए पनि पहल गरेर समाधान खोजिनुपर्छ भनिएको हो । ‘आफ्नो थैलो बलियोसँग बाँध्नु, अरुलाई दोष नलगाउनु’ भन्छन् ।

यो त झन् राष्ट्रियताको कुरो हो । यदि, नेपाल सरकारले चाहने हो भने सिमानामा पर्खाल लगाउन सकिने सहज विकल्प पनि हाम्रै सामुन्ने छ । मुखले रोटीबेटी भन्ने र व्यवहारले केटाकेटी ठान्ने भारतसँग हामी नेपालीहरु आखिर कहिलेसम्म यसरी थिचिएर बस्ने ?

राजनीतिक दल र त्यसका नेताहरुको चाकरीले पराकाष्ठा नाघ्नु पनि उसले हेप्नुको एउटा गतिलो कारण हो । जनताका बीचमा एउटा र ऊसँग अर्कै सौदा गर्न पल्किएका नेपाली नेताहरुको पनि आन्द्रासमेत उसले केलाइसकेको छ । कुन समयमा कहाँ प्रहार गर्ने ? भन्ने कुरामा ऊ पोख्त छ ।

विभिन्न नामधारी फाउण्डेशन खोलिदिनेदेखि यिनका छोराछोरी विदेश पढाइदिनेसम्मका जिम्मेवारी पूरा गरिरहेकाहरुलाई नेपालमा हात लम्काउन वर्तमान अवस्थामा कुनै आइतबार कुर्नु पर्दैन । नेपालका हरेक राजनीतिक निर्णयमा उसको प्रभुत्व आजपर्यन्त पनि जारी नै छ । यसको मुख्य कारकतत्व भनेकै हाम्रै शासकहरुको लाचारीपन हो ।

यसअघिको सरकारले चुच्चे नक्सा बनायो । संसद्ले पारित पनि गर्यो । यो उल्लेखनीय काम थियो । उसै त राष्ट्रवादी कहलिएकाहरु रातारात राजनेता बने । उनका भक्तजनहरुले यति भजन गाएकी मानौँ यो दुनियाँको रचना नै उनै कथित राजनेताले गरेका हुन् ।

परन्तु हप्ता दिन नबित्दै त्यो चुच्चे नक्सा गुमनाम भयो । जसरी भारतीय प्रभुकै सल्लाहमा नाकाबन्दी लगाएर केही दिन उत्पातै राष्ट्रवाद कमाएका थिए, चुच्चे नक्साको पनि ठिक त्यही हविगत भयो । गफै जोतेर खेतीपाती भित्रिने भए खेतबारी किन जोत्नुपथ्र्यो र ? अनि गफैले चिउरा भिझ्ने भए त दही, दूध पनि किन चाहिन्थ्यो र ?

हिंस्रक बाजले सेता परेवामाथि धावा बोलेझैँ दादागिरी शैलीमा दिनदहाडै हाम्रो भूमिमा उसले सडक बनाइरहेको छ । तैपनि सार्वभौम स्वतन्त्र राष्ट्र भनेर नथाक्ने हामी नेपाली टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । उता सरकारले रहस्यमय मौनता साँधेर रमिता हेरिरहेको छ ।

नेपाली भूमि अतिक्रमणका सम्बन्धमा सेलिब्रेटी नेतासहित दल विशेषको विज्ञप्तिभन्दा पनि खासमा नेपाल सरकारको आधिकारिक वक्तव्य र कडा भत्सर्ना आउनुपर्ने हो । तर आम नेपाली जनताको त्यो आशा सधैँ निराशामा परिणत भएको छ ।

महोदय, अब हामीलाई जवाफ चाहिन्छ । हाम्रो सिमाना बेचिएको हो वा मिचिएको ? पटकपटकका खेलाँची र लापरबाही आम नेपाली जनतालाई स्वीकार्य छैन । सत्ता बाहिर हुँदा निकै नै राष्ट्रभाव देखाउने अनि कुर्सीमा टाँसिएपछि सबै पोलेर खाने ? यो राजनीति सिनेमाका पर्दाहरुमा मात्रै सुहाउँछ, वास्तविक धरातलमा होइन ।

आम जनस्तरबाटै भारतीय ज्यादतिको भत्सर्ना हुँदासमेत राज्यले कानमा तेल हालेर बस्नु भनेको निकै लज्जास्पद विषय हो । उसले हाम्रो छातिमाथि बुट बजारिरहने र हामीले सहिरहने भन्ने कदापि हुँदैन ।

यो देशका नेता भनौंदाहरुमा न्याय, समानता, स्वाभिमान र राष्ट्रभाव मरे पनि आम जनताको छातीभित्र अथाह देशप्रेम छ । समयमै चेत खोलेर राष्ट्रहितमा लाग्नु नै सबैको भलो हुनु हो । अन्यथा धेरै समयदेखि जनस्तरमा कुण्ठित बनेको राष्ट्रियताको बाँध आँधी बनेर फुट्यो भने वैदेशिक हस्तक्षेप सँगसँगै उसका मतियारहरुसमेत सति जानुको विकल्प नभेटिन सक्छ ।
– लमही, दाङ

प्रतिक्रिया दिनुहोस्