काठमाडौं । वि.सं. १९८५ साल मंसिर ४ गते काठमाडौंको ठहिटीमा जन्मिनुभएका लक्ष्मीदास मानन्धरको २०७८ साल माघ ६ गते आफ्नै निवासमा निधन भयो ।
बाँचुञ्जेल सक्रिय जीवन बिताउनुभएका मानन्धर प्रतिष्ठित उद्योगपतिका साथै भाषासेवी, समाजसेवी, शिक्षासेवी र धर्मसेवी हुनुहुन्थ्योे । जीवन यापनको सुरुवात टेलिफोन अपरेटरबाट शुरु गर्नुभएका मानन्धर सादा जीवन उच्च विचारका धनी हुनुहुन्थ्यो ।
नेवारकुलमा जन्मनुभएका मानन्धरमा केही गरौँ भन्ने आँट र हिम्मत थियो । त्यही आँटले उहाँले जागिरे जीवन छाडेर व्यापारमा हात हाल्नुभयो । सुरुमा उहाँले नुनको व्यापार गर्नुभयो । नुनसँगसँगै आयात निर्यातको क्षेत्र र होजियारी उद्योगमा लगानी विस्तार गर्नुभयो ।
त्यसो त वि.सं. २०२० साल भदौ २७ गते नेपाल सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सार्वजनिक निजी साझेदारीअन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्थापना हुनपुग्यो । मानन्धर कर्पोरेशनका संस्थापकका रुपमा रहनुभएको थियोे ।
साल्ट ट्रेडिङको सञ्चालक समितिमा रहेर उहाँले आमजनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सेवामुखी व्यापार र उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउनुभयो । ६० को दशकबाट उहाँले कर्पोरेशनको संचालक समिति अध्यक्षको जिम्मेवारी लिनुभएको थियो । उहाँले कर्पोरेशनलाई जनहितका काममा लाग्न प्रेरित मात्र गर्नुभएन, सबल नेतृत्वसमेत प्रदान गर्नुभयो ।
सामूहिक भावनालाई आत्मसात गर्दै उहाँ र उहाँसँगै रहेका व्यवस्थापनका सारथीहरुको अविचलित र दृढ संकल्पले फलतः नेपालमा जनमुखी बजार अर्थतन्त्रको जगलाई मजबुत तुल्यायो । चाहे त्यो जनस्वास्थ्यसँग जोडिएको आयोडिनयुक्त नुनको पहुँचलाई आम सर्वसाधारणसम्म सहजरुपमा पुर्याउने सवाल होस् वा बजारमा आइपर्ने कृत्रिम अभाव, कालोबजारी, महंगी नियन्त्रण । यी सबैमा उहाँको योगदान अतुलनीय रहेको छ ।
भूकम्प, नाकाबन्दी, प्राकृतिक प्रकोपजस्ता प्रतिकूल अवस्था र विशेष महत्वका चाडपर्वका बखत पनि कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिई जनजीवनलाई सहज तुल्याउँदै आएको छ । यस कार्यमा स्व. मानन्धरकोे योगदान प्रशंसनीय रहँदै आएको छ ।
यसका अलवा पनि उहाँले साल्ट ट्रेडिङद्वारा प्रवद्र्धित विभिन्न उद्योग एवं कम्पनीहरू जस्तै सगरमाथा इन्स्योरेन्स, नेपाल मैदा मिललगायतका बोर्डमा विभिन्न भूमिकामा रहेर कार्य गर्नुभयो ।
यसरी उहाँले आमउपभोक्ता र सरकारको सारथी भएर काम गर्नुभएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनले कृषकको सुविधाका लागि रासायनिक मलको बिक्री वितरण गर्न थालेपछि भारतीय रेलको सबैभन्दा ठूलो नेपाली ग्राहक साल्ट ट्रेडिङ कर्पोरेशन बनेको छ ।
स्व. मानन्धर कै प्ररेणाले गर्दा साल्ट ट्रेडिङ कर्पोरेशनले विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाहरूलाई वार्षिकरुपमा नगद पुरस्कारसहित सम्मानित गर्ने कार्यसमेत गर्दै आएको छ ।
मानन्धरले वि.सं. २०१७ सालमा आएर नेपाल निटिङ्ग इन्डष्ट्री नामक उद्योग स्थापना गरि नेपालमै पहिलोपटक मोजा कारखाना स्थापना गर्नुभएको थियो । भैरहवामा व्यापार कर्पोरेटद्धारा पेट्रोल पम्प, सिद्धार्थ कोल्ड स्टोरेज, नेपाल प्लाष्टिक उद्योग र सिद्धार्थ खाद्य उद्योग गरि विभिन्न उद्योगहरू समेत संचालनमा ल्याउनुभएको थियो ।
भर्खर जग हाल्दै गरेको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन अतुलनीय योगदान पुर्याउनुभएका स्व. मानन्धर प्रगतिशील राष्ट्रवादी हुनुहुन्थ्यो ।
होजियारी उत्पादन संघको संस्थापक सदस्य हुँदै अध्यक्ष, नेपाल चेम्वर अफ कमर्शको कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य हुँदै कोषाध्यक्ष र सल्लाहकारका साथै राष्ट्रिय उद्योगी व्यापारी महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै व्यवसायिक क्षेत्रको उन्नयन र विकासका लागि पनि अनवरत तबरले लागि पर्दै आउनुभएको थियो ।
स्व. मानन्धर २०५८ सालमा नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । २०६८ सालमा अन्तरिम संसद्मा प्रवेश गरी एक वर्षसम्म उद्योग व्यवसाय समितिको सभापतिको जिम्मेवारीसमेत उहाँले कुशलतापूर्वक वहन गर्नुभएको थियो ।
मानन्धरको निधनले मुलुकले एक सपुत गुमाएको छ । उहाँको निधनप्रति दृष्टि मिडिया परिवार गहिरो शोक व्यक्त गर्दै स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ ।