काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रपत्रिकामा आएजस्तो यो गठबन्धन टुट्ने बेला नभएको बताएका हुन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटमा गठबन्धनलाई अझै बलियो बनाएर जाने विषयमा छलफल भएको उनको भनाइ छ । अध्ध्यक्ष नेपालले भने, ‘हामी तीनैजना बसेर छलफल गरौँ । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन् । यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौँ ।’
अध्यक्ष नेपालले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धन एकसाथ जाने बताए । उनले भने, ‘जेठमा हुने स्थानीय तहको निर्वाचनमा हामी गठबन्धन मिलेर जान्छौँ । यो गठबन्धन तोडिनेवाला छैन ।’
विचार मिल्ने वामपन्थी र लोकतान्त्रिक गठबन्धनले दक्षिणपन्थीमा तरंग ल्याएको भन्दै उनले आगामी दिनमा पनि देश गठबन्धनको यात्रामा अगाडि बढ्ने बताए । उनले भने, ‘हामीले संविधान जोगाएका छौं । संघीयता सुदृढ गरेका छौँ ।’