Logo
Logo

नेपाल टेलिकमले घटायो अन्तर आबद्धता शुल्क


2k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि जारी गरेको अन्तर आबद्धता शुल्क निर्देशिका कार्यान्वयनमा आएसँगै नेपाल टेलिकमले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर नेपाल टेलिकमले २०७८ माघ १८ गतेदेखि लागू गर्दै उक्त शुल्क घटाएको हो ।

नयाँ अन्तर आबद्धता कार्यान्वयन भएपछि एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ १० पैसा मात्र कायम गरेको छ ।

त्यस्तै टेलिकम जिएसएम, सिडीएमए र सिफोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट एक रुपैयाँ ८ पैसा तथा जिएसएम, सिडीएमए र सिफोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम भएको छ ।

त्यस्तै जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउदा प्रति सन्देश एक रुपैयाँ १० पैसा लाग्ने छ । उल्लिखित दररेटमा करवापत लागू हुने रकम समावेश नगरिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्