Logo
Logo

एमाले नेता सुवास कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश


18.1k
Shares

काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हन् ।

आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कार्यचार्यले अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर एकीकृत समाजवादीमा प्रवेश गरेको बताए । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।

उनले एमालेभित्र बसेर पार्टीलाई सच्याउने अवस्था नरहेको बताए । उनले भने, ‘अब एमालेभित्र बसेर पार्टीलाई सच्याउने अवस्था रहेन, धुजाधुजा भएको कम्युनिस्ट आन्दोलन उठाउने अवस्था रहेन, केपी ओली र उनका गलत कुराको साक्षी बसेर आत्मसमर्पण गरेर निरीह भएर त्यो पार्टीभित्र परिवर्तनको सपना देख्ने कि गलत कुराविरुद्ध विद्रोह गर्ने ?’

कर्माचार्य सिन्धुपाल्चोक एमालेका स्थापित नेता हुन् । २०३७ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा उदाएका नेता कर्माचार्य पार्टी भित्र निडर र हक्की स्वभावका मानिन्छन् ।

नेता कर्माचार्य २०५८ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक पार्टी प्रमुख भए । माओवादी युद्धमा एमालेका नेता कार्यकर्ताहरुलाई माओवादीले दुःख दिने क्रम बढेपछि सशक्त प्रतिकारमा समेत उत्रिएका नेता कर्माचार्य २०५६ सालमा सिन्धुपाल्चोक दुईबाट संसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्