मोरङ । ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
माघ १२ गतेदेखि घरैबाट एक्कासि हराएको भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई थाहा नै नदिई आफ्नी श्रीमतीको नाममा बनाएको जानकारी भए पश्चात अदालतमा मुद्दा परेको र अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको रिसमा उनले आमाको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।