काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केही समय अगाडि सम्पन्न महाधिवेशनबाट राजेन्द्र लिङ्देन अप्रत्याशित अध्यक्ष निर्वाचित भए ।
राजेन्द्र अध्यक्ष निर्वाचित हुँदा धेरैले अचम्म माने । राजेन्द्रको आगमनपछि निर्वतमान बनेका कमल थापाले त अझै पनि स्वीकार गर्न नै सकेका छैनन् । उनी सार्वजनिक रुपमै अनेक आरोप लगाउन पछि परेनन् । थापाको आरोप मध्ये ‘निर्मल निवासको चाहनामा राजेन्द्र अध्यक्ष बने’ भन्ने सबैको चासोको विषय बन्यो ।
राजेन्द्रले कमलको आरोप खण्डन गर्दै आए पनि आम जनमासमा राजेन्द्रको खण्डनले खासै काम गरेको देखिन्न । अहिलेसम्म राप्रपामार्फत राजतन्त्र पक्षधरको नेतृत्व गरिरहेका थापालाई निर्वाचनमार्फत पराजित गर्ने कुरा सामान्य थिएन । त्यसैले राजेन्द्रले कुनै न कुनै शक्तिकेन्द्रबाट बलियो साथ पाएको हुनसक्ने सबैको अनुमान रहेको छ ।
अहिलेको अवस्थामा राजेन्द्रले कुनै शक्ति केन्द्रको साथ पाए उनै पूर्वराजाकै पाउने कुरामा दुईमत रहन्न । त्यसमा पनि कमलले नै ‘पूर्वराजाको साथमा राजेन्द्र अध्यक्ष निर्वाचित भए’ भनेपछि धेरै दुविधामा रहनुपर्ने अवस्था रहेन ।
तर, भर्खरै पूर्वराजाको समर्थन पाएर अध्यक्ष निर्वाचित भएको भनिएका राजेन्द्र भने सक्रिय राजसंस्थाको पक्षमा नरहेको भन्न थालेका छन् । उनी आफू संवैधानिक राजसंस्थाको पक्षमा मात्र रहेको बताउँन थालेका हुन् ।
रातोपाटी डटकमसँगको अन्तर्वाताको क्रममा उनले सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । लिङ्देन भन्छन्– ‘हामी सक्रिय राजसंस्थाको पक्षमा नरहेको पुनः स्पष्ट गर्न चाहन्छु । बिल्कुल त्यो गलत प्रचार हो । राप्रपाले परिकल्पना गरेको राजसंस्था संवैधानिक राजसंस्था हो । हिजोको जस्तो प्रत्यक्ष शासन गर्ने वा सक्रिय राजसंस्थाको कुरा गरेको होइन भनेर भनिराख्नुपर्दैन ।’
भर्खरै पूर्व राजपरिवारकै समर्थनमा अध्यक्ष निर्वाचित भएको भनिएका लिङ्देनको यस्तो अभिव्यक्तिले लिङ्देन र पूर्व राजपरिवारबीचको सम्बन्धमा खटपट हुन थालेको आशंका गर्न थालिएको छ ।