Logo
Logo

अझै उड्न सकेका छैनन् शान्तिका परेवा


6k
Shares

यसपालीको शहीद दिवस भर्खरै मनाइयो । शहीदका शालिकहरूमा चढाइएका माला अझै झुण्डिरहेकै होलान् । कर्मकाण्डमा मात्र सीमित नै किन नहोस्, यस्ता बेलामा केही लेख, स्मरण पढ्न पाइन्छ । भावना साटासाट हुन्छन् । वर्षको एकपल्ट भए पनि सम्झिने, सम्झाउने, आफैँलाई सोध्ने, झक्झक्याउने काम हुन्छ । यति मात्र भए पनि नहुनुभन्दा हुनु राम्रो ।

यो चिसो याममा शहीदलाई सम्झिँदा आफ्ना धेरै साथीजस्तै म पनि भावुक हुँदोरहेछु । ती साहसी वीरले देशप्रेम, प्रजातन्त्र र मानवजातिकै हितसमेत ओगटेका आफ्ना फराकिलो सपनाका निम्ति तानाशाही, अन्याय, अत्याचार, बेथितिकाविरुद्ध लड्दा आफ्नो जीवन नै चढाएको कुरा सामान्य हुनै सक्तैन ।

नयाँ तानाशाहहरु जबजब ती शहीदका रगतको खिल्ली उडाउँदै उहिलेका ‘विजेता’ राजाको शैलीमा ‘मै हुँ नयाँ राजा’ भनेझैँ गरी आत्मप्रशंसामा निर्लज्ज भाषण गर्छन् र आफैँ फूलमालाका भारीले ढाकिन्छन्, जनताको मन दुख्नु, तीप्रति आक्रोश उर्लनु स्वभाविक नै हुन्छ ।

हामी जन्मिनुभन्दा अघिका शहीदहरुबारे सुनेर, पढेर मात्र केही थाहा पाइयो । कतिका बारेमा त अझै केही थाहै छैन । ‘ज्ञात–अज्ञात शहीदहरु’ भनेर सम्झन र मनभरिको श्रद्धामा डुब्ने मात्र गर्न सक्छौँ । कुनै बेला भने कताकताबाट प्रत्यक्ष–अप्रत्यक्षरूपमा नजिकै जोडिन पुगिँदो पनि रहेछ ।

सगुनहरु बितेको धेरै समय भइसक्यो । तर, शान्तिका परेवा उड्न अझै सकेका छैनन् । कवि पूर्ण वैद्यको कवितामा जस्तै शहीद दिवस कसैका डिनर टेबुलको काँटा चम्चामा फेरिएका छन् । कर्मकाण्ड भएका छन्– शहीद दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवस !

एकपल्ट ‘सम्पूर्ण आकाश’कै सिलसिलामा श्रद्धेय शहीद गंगालालकी धर्मपत्नी हसिनादेवीलाई भेट्न पुगेकी थिएँ । युवावस्थामै विधवा भएर जीवनभर आफ्नो प्रियतमलाई सम्झनुको कथा बेग्लै छ ।

मधुर बोली र नम्र स्वभावकी धनी, गोरो वर्णकी फूलजस्तै लाग्ने वृद्धा हसिनादेवीसँग कुरा गरिरहँदा आफैँलाई पनि धेरै गाह्रो भइरहेको थियो । ‘पुराना घाउ कोट्याएर दुःख दिन पो बसेकी छु कि ?’ जस्तो लागेको थियो । शहीदपत्नीसँगको भेटघाटले इतिहासका धेरै कुरा र त्यो समयको जीवनबारे प्रत्यक्ष सुन्न पाएकी थिएँ । सुनेका, अनुभूत गरेका सबै कुरा लेख्न सकिन्न । अब त उहाँ पनि हुनुहुन्न ।

पछि आफैँ संलग्न आन्दोलनकै कति साथीले सहादत प्राप्त गरे । पछिल्लो लोकतान्त्रिक आन्दोलनसँग जोडिएर प्रत्यक्ष भोगेका, देखेका, सुनेका र आफ्नै परिवारसँग जोडिएका त्याग, सौर्य र बलिदानका कथा पनि छन् । जसलाई बिर्सिन पनि सकिन्न, लेख्न पनि भ्याइएको छैन । कुनैबेला स–साना टिपोट लेख्दै पोको पारेर राखेको एउटा नोटबुक संयोगले भेटेँ– यही शहीद दिवसको बेलातिर ।

प्रायः हरेक दिन जुलुस, धर्ना, प्रदर्शनमा हिँडेका हुलका हुल युवा, पाका, महिला र किशोरकिशोरी समेत सबै तप्काका नागरिक सडकमा ओर्लेको बेला थियो त्यो । पाका, नयाँ, विभिन्न पुस्ताका असल साहित्यकार, कलाकार जीवनका निम्ति, सकारात्मक परिवर्तनका निम्ति, अन्धकारसँग जुझ्न स्वतस्फुर्त सडकमा कविता वाचन गरिरहेका हुन्थे, गीत गाइरहेका हुन्थे, कला प्रदर्शन गरिरहेका हुन्थे । र राज्यको ताडना खपिरहेका हुन्थे ।

कहिले–कहिले आफू पनि त्यसैमा मिस्सिन्थेँ । हाम्रो परिवार पनि आन्दोलनमा पूर्णरूपमा लागेको बेला थियो । सरोज सेतो कोटमै अस्पतालबाट निस्केर अरु सहकर्मीसहित अश्रुग्यास हानिरहेका पुलिससँग झगडा गर्न पुग्थ्यो । अन्त्यतिर आन्दोलन निर्णायक बिन्दुतिर पुग्दैगर्दा त कर्फ्यू तोडेर सहयोद्धाहरुसँग ऊ १८ दिन जेलमै बस्नुपर्यो । लोकतन्त्रको घोषणा भएपछि बल्ल बाहिरिएको कुरा म कसरी बिर्सन सक्छु र ? उनीहरु जस्तै कर्फ्यू तोड्ने कैयन् योद्धा त्यही दिन सडकमै ढलेका थिए । त्यो वीरता र साहस जनताका विभिन्न पंक्तिबाट प्रदर्शित भएको थियो ।

त्यसैबेला आँसुले लेखेको एउटा टिपोटलाई यो शहीद दिवसले सम्झाइदियो र त्यही भेटेको पुरानो नोटबुक पल्टाएँ । लेखेकी रहेछु– ‘…सपनामा पनि लोकतन्त्र देख्ने, लोकतन्त्रप्रेमीहरु सडकमा उत्रेका छन् । तानाशाहीमुनि… जिन्दगी बिताउनुभन्दा बरु छातीमा गोली थापेर मर्नु बेस भनी कर्फ्यू तोडेर अगाडि बढेका छन् । नेपाली जनता आफ्नो वीरताको गाथा सडकमा आफैँ गएर कोर्न हिंडे अब …’

असंख्य निशस्त्र जनता बलिदानको भावना लिएर कर्फ्यूविरुद्ध तानाशाहहरुलाई चुनौती दिँदै सडकमा ओर्लिरहेको त्यो बेला कर्फ्यू तोड्नेमध्येकै एक शहीद थिए– सगुन ताम्राकार । मात्र १७ वर्षको किशोर ।

सगुनलाई म चिन्दिनँ, उनकी आमालाई पनि चिन्दिनँ । सत्र वर्षको बच्चा पनि कर्फ्यू तोड्दै अगाडि बढ्यो र छातीमा गोली लागेर मर्याे रे भन्ने सुन्दा म आमा भएर निकै बेर रोएँ । देश ठूलो कि सन्तान ठूलो ? जीवन ठूलो कि स्वतन्त्रता ? म पनि त्यतिखेर सन्तान हुर्काइरहेकी आमा थिएँ । श्रद्धाञ्जलि दिँदै लेखेकी रहिछु-
छोरा,
तिमी वीर छौँ
त्यसैले पवित्र छौँ
तिम्रो पवित्र रगत
यो धर्तीलाई चढायौँ, मातृभूमिलाई चढायौँ
प्रिय सगुन, देशको निम्ति आफैँलाई सगुन बनाएर चढायौँ !
छोराको बलिदानले एउटी आमा मात्र रोएकी छैनन्
असंख्य आमाहरुको आँसु शक्तिपुञ्ज बनेको छ !
आमा हुँ म कसरी बिर्सन सक्छु र– हृदय त रोएकै छ,
तर तिम्रो बलिदानको सन्देश यो धर्तीभरि फैलिएको छ
तिम्रो रगत सिञ्चित यो धरतीमा शान्तिका कमल फुल्नेछन्
आकाशभरि माथिमाथिसम्म शान्तिका परेवाहरु उड्ने छन् ।
तिम्रो वीरताका गाथा सबैले गाउनेछन् युग–युगसम्म
तिमी कहिल्यै मर्दैनौँ कहिल्यै मर्दैनौँ …’

यति भनेर आफ्नो मन थामेकी थिएँ । सगुनहरु बितेको धेरै समय भइसक्यो । परिवर्तन त भयो । तर अहिले पनि नयाँ–नयाँ अवतारमा अन्याय अत्याचार देखापरिरहेका छन् । बेथिति र भ्रष्टाचारको सीमा नै छैन । तानाशाहीका नयाँ मिहीन संस्करण देखापर्दैछन् । शान्तिका कमलहरु फुल्न बाँकी नै छन् । शान्तिका परेवा उड्न अझै सकेका छैनन् । कवि पूर्ण वैद्यको कवितामा जस्तै शहीद दिवस कसैका डिनर टेबुलको काँटा चम्चामा फेरिएका छन् । कर्मकाण्ड भएका छन्– शहीद दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवस !

तर यही स्थितिबाट अघि बढ्ने र यो भन्दा राम्रो संसार सिर्जना गर्ने जनताका चाहनामा सगुनहरु जिउँदै छन् । मानिस अहिलेभन्दा असल हुनसक्छ र हुनुपर्छ भन्ने चेत थोरै मान्छेमा हुन्जेल पनि सगुनहरु जिउँदै रहन्छन्, ती मर्दैनन् । मानव अस्तित्वको सौन्दर्य नै यही हो– जुनसुकै युगमा पनि मानिस अझ उज्यालोतिर उन्मुख हुन खोज्छ, विद्यमान स्थितिमा भन्दा बढी खुशी हुन खोज्छ ।

‘अरुलाई खुशी हुन नसघाउने मान्छे आफैँ मात्र कहिल्यै खुशी हुनै सक्दैन’ भन्ने कुराको सत्यबोध हुने थोरै मान्छे जहिले पनि समाजमा हुन्छन् । यही सर्वकालीक चाहना र सत्यबोधमा शहीदहरू जीवित रहन्छन्, अमर रहन्छन् । ती सबै शहीदहरुमा श्रद्धाञ्जलि !

प्रतिक्रिया दिनुहोस्