काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याए पार्टीले सहयोग गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् ।
सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै उनले यसबारे पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताए । एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने उनको भनाइ छ ।
‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका महागठबन्धनले के गर्छ ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन’ उनले भने, ‘सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ ।’
उनले एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कांग्रेसले प्रस्ताव राखेका एमालेले साथ दिने बताए । सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको समेत उनले आरोप लगाए ।