चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले आज गाउँव्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी हुन् ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरीका गाउँव्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरेर काम गरिरहेको बताइन् । हालसम्म करिब १२ हजार घर परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको पनि उनले बताइन् ।
मन्त्री श्रेष्ठले भूमि भएरपनि भूमि विहिन बनीरहेकाहरु कोही पनि भूमि पाउनबाट छुट्न नहुनेमा जोड दिँदै सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि भूमिहिनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढाएको बताइन् ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोग मार्फत काम अगाडी बढाएको उनले जानकारी दिइन् ।
नागरिकका आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको उनको भनाइ थियो ।
संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गर्ने उनले प्रतिवद्धता गरिन् ।
यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउपालिकाको गाउँव्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् ।
२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले बताइन् ।
आजै मन्त्री श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।