Logo
Logo
कला

‘एकैदिन पाँच वटासम्म भिडियो गरेकी छु’


8.9k
Shares

नाच्न भनेपछि रीना थापा मगर सानैदेखि हुरुक्कै हुन्थिन् । तर, नाचेरै करिअर बनाउँछु भन्ने सोचेकी थिइनन् । नसोचेको सफलता मिल्दा रीना खुसीले फुरंग छिन् । डान्स रियालिटी शो ‘प्रतिभाको आँगन’मा प्रथम भएसँगै रीनाको भाग्य खुलेको हो । सन् २०११ यता व्यवसायी मोडलिङमा सक्रिय काभ्रेपलाञ्चोक, पाँचखालकी रीना भन्छिन्, ‘नृत्य मेरो प्यासन हो, त्यही भएर कलेजमा समेत नृत्य विषय रोजेँ ।’ डान्स पार्वती राई र रश्मी तामाङपछि लोकदोहोरी गीतको भिडियोमा रीनाको जगजगी सुरु भएको हो । एक समय उनी यति व्यस्त भइन् कि एकैदिनमा पाँच वटासम्म म्युजिक भिडियोमा गर्न भ्याइन् । रीना भन्छिन्, ‘जुन समय मलाई खाने र सुत्ने समयसमेत हुँदैनथियो । रीनाले हालसम्म दुई हजारभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । रीनासँग एमपी सुब्बाको जम्काभेट :

एक समय लोकदोहोरी गीतको भिडियोमा तपाइँको जगजगी थियो । अहिलेचाहिँ के गर्दै हुनुहुन्छ ?

अहिले पनि म्युजिक भिडियोहरु नै गरिरहेकी छु । तर, पहिलेजस्तो जगजगी छैन । तर, फुर्सदमा पनि बस्नुपरेको छैन ।

ती दिनहरु सम्झिँदा कस्तो लाग्छ ?

रमाइलो लाग्छ । त्यस्तै, सकस पनि किनकि जतिखेर लोकदोहोरी गीतको भिडियोमा मेरो जगजगी थियो, त्यो बेला सुत्ने र खानेको ठेगानै हुँदैनथ्यो । मैले यहाँ भन्दाखेरी मान्छेहरुले नपत्याउन सक्छ । तर, पाँच÷छ वर्ष अघिको कुरा हो, तीजको बेला मैले एकैदिन पाँच वटा भिडियो गरेकी थिएँ ।

मोडलिङमा छोटो समयमै त्यो सफलता कसरी मिल्यो ?

भाग्यकै कुरा भनौँ । हुन त म सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुन्थेँ । नृत्य मेरो प्यासन हो । त्यसैले कलेजमा पनि नृत्यलाई नै मुख्य विषय बनाएँ । मैले पिके क्याम्पसबाट नेपाली कल्चरल नृत्यमा ब्याचुलर गरेकी हुँ । अब स्नाकोत्तर गर्ने सोच छ ।

मोडलिङ लागेर सफलता हात पार्छु भनेर सोच्नुभएको थियो ?

सोचेकी थिइनँ । मोडलिङमा लाग्छु भनेर पनि सोचेकी थिइनँ । मैले यतिमात्र सोचेकी थिएँ कि एक कुसल डान्स बन्न सकौँ । तर, जुन मैले नसोचेको सफलता हात लाग्यो, त्यसमा खुसी छु ।

मोडलिङमा चाहिँ कसरी लाग्नुभयो ?

नृत्य मेरो प्यासन भएकाले एनटीभी प्लसबाट प्रसारण भएको डान्स रियालिटी शो ‘प्रतिभाको आँगन’मा भाग लिएँ, ठ्याक्कै मितिचाहिँ थाहा भएन । र, प्रथम पनि भएँ । त्यसपछि लोकदोहोरी गीतको भिडियोमा काम सुरु गरेकी हुँ । मैले डान्सिङ बीटको लोकदोहोरी गीतहरुको भिडियोमा मात्रै गर्ने हो किनकि म डान्सर हुँ ।

आधुनिक गीतहरुमा मोडलिङ गर्नु हुन्न ?

मैले केही आधुनिक गीतको भिडियोहरु पनि गरेकी छु । तर, मलाई सुहाउँदैन किनकि म मंगोलियन फेशकी छु । मंगोलियन फेसलाई आधुनिक गीतको भिडियोमा नसुहाउने रहेछ ।

अहिलेसम्म कति म्युजिक भिडियो गर्नुभयो ?

दुई हजारभन्दा बढी नै भयो होला । १४ सय पुग्दासम्म गनेकी थिएँ । यो तीन वर्षअघिको कुरा हो । त्यसपछि गन्नै छाडे ।

स्टेज कार्यक्रम कहाँ कहाँ गर्नुभएको छ ?

नेपालका ७७ जिल्लामै गरेकी छु । विदेशमा भन्नुपर्दा जापान, कोरिया, हङकङ, मलेसिया, युएई, कतारलगायतका देश पुगेकी छु ।

पैसा त टन्नै कमाउनुभएको होला है ?

पैसा भन्ने चीज कमाइन्छ र सकिन्छ पनि । मैले नकमाएको होइन, कमाएर पनि सकियो ।

लोकदोहोरी गीतको भिडियोमै रमाइरहने कि फिल्ममा अभिनय गर्ने सोच छ ?

मलाई फिल्ममा अभिनय गर्ने रुची छैन । नृत्यकार भएकाले मलाई लोकदोहोरी गीतमै ठीक छ । लोकदोहोरीमा पनि म नेपाली टिपिकल गीतमा बढी नृत्य गर्छु । मेरो रुची र पढाइ पनि टिपिकल डान्स नै हो ।

आइटम डान्सको लागि प्रस्ताव आयो भने गर्नुहुन्छ ?

मैले पाँचर/६ वटा फिल्ममा आइटम डान्स गरिसकेकी छु । यो मेरो रुचीकै विषयभित्र पर्छ । त्यसैले अझैपनि आइटम डान्स गर्छु ।

नृत्यको शिखरमै पुगिसक्नुभयो । अब योभन्दा माथि कहाँ पुग्ने उद्देश्य हो ?

अहिले त शिखरमा पुगेर पनि ओर्लँदैछु । तर, अझैपनि मैले धेरै सिक्नु छ । नृत्य क्षेत्रमै रहेर केही गर्ने सोच छ । मेरो उद्देश्य भनेको विजनेश गर्नु हो ।

तपाइँ सिंगल नै होइन त ?

हो, अहिलेसम्म सिंगल नै छु ।

सिंगल भएपछि प्रेम प्रस्तावको ओइरो नै आउँछ होला नि ?

त्यो भन्नै पदैन । आइरहेको हुन्छ । धेरैजसो सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट आइरहेको हुन्छ । कतिपयले भेटघाटमै पनि प्रस्ताव राख्छछन् । तर, मैले स्वीकारेकी छैन ।

घरजम गर्ने उमेर त हो नि ?

हो, तर घरजम गर्नुका लागि समय आउनुपर्छ । अहिलेसम्म समय आएको छैन ।

प्रतिक्रिया दिनुहोस्