काठमाडौं । नेपाललाई समयसीमामै एमसीसी संसदबाट अनुमोदन गर्न अमेरिकाले दबाव दिएको छ ।
अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजनाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रमार्फत फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई दबाव दिएको हो ।
एमसीसीले नेपाललाई लेखेको पत्र अनलाइनखबरले सार्वजनिक गरेको छ । अमेरिकी सरकारका सहायता परियोजनाका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले गत ३ फेबु्रअरीमा नेपाल सरकारलाई लेखेको पत्रमा ‘एमसीसी सम्झौता कार्यान्वयनका लागि लामो समय कुर्न नसक्ने’ प्रष्ट पारेको छ ।
एमसीसीले पत्रमार्फत एमसीसी सम्झौता अनुमोदन गर्न दबाव दिएपनि सरकारले पत्र सार्वजनिक गरेको थिएन । तर, नेपाल कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले एमसीसी जसरी पनि पास गर्नुपर्ने आफू दबावमा रहेको बताएँदै आएका थिए । केही दिनअघि मात्र प्रधानमन्त्री देउवाले भनेका थिए, ‘एमसीसी पास नगरे फिर्ता जान्छ, र गठबन्धन फुट्न सक्छ ।’
प्रधानमन्त्री भनाइले पनि अमेरिकाले एमसीसी पास गर्नु दबाव दिएको प्रष्ट भएको थियो । अमेरिकाले नेपाललाई लेखेको पत्रमा फेबु्रअरी २८ अर्थात फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न भनेको छ ।
एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाउँदै एमसीसी कार्यान्वयनका विषयमा छिटो टुंगोमा पुग्न भनेका छन् ।
गत १३ असोजमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि चार÷पाँच महिनाको समय मागेका थिए । सोही समयमा एमसीसी पास गर्न अमेरिकाले भनेको छ ।