काठमाडौं । सत्तारुढ दलभित्रै एमसीसीबारे फरक–फरक धारणा सार्वजनिक भइरहेको बेला नेपाली कांग्रेस भने संसदबाट जसरी पनि एमसीसी अनुमोदन गराउन लागिपरेको छ ।
एमसीसीमा सहमति जुटउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफै छलफलमा जुटेका छन् । सँगै, पार्टीका नेतालाई विभिन्न नेतासँग छलफल गर्न खटाएका छन् ।
प्रधानमन्त्री देउवाले एमसीसीकै बिषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छलफल गरिरहेका छन् ।
तर, त्यसअघि नै प्रधानमन्त्री देउवाको प्रतिनिधिको रुपमा काग्रेस नेता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच झण्डै एक घण्टा एमसीसीको विषयमा छलफल भएको थियो ।
सभामुख सापकोटाले भने अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्दा राष्ट्रहीत तल पर्ने भन्दै दलीय सहमतिकै आधारमा एमसीसीका प्रावधानहरु संशोधन गरेर मात्र अघि बढ्न सकिने प्रतिकृया दिएका छन् ।
प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक अघि सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच भेटवार्ता भएको हो ।