Logo
Logo

राजसंस्थाको नारा छाडेर हिन्दुवादी दल गठन गर्दै कमल थापा


2.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने भएका छन् । थापा गत मंसिरमा पार्टीेको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

अध्यक्षमा पराजित भएसँगै थापाले पार्टी गतिविधि बहिष्कार गर्दै नयाँ पार्टी खोल्नका लागि छलफल थालेका हुन् । थापाले एकता महाधिवेशनमा पराजित भएपछि त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई दिँदै आएका छन् ।

थापाले सोमबार नयाँ पार्टी खोल्ने पूर्वतयारीस्वरुप बैठक बोलाएका छन् । नयाँ पार्टी खोल्ने तयारीस्वरुप नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आफूनिकट केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन् ।

उनले राजसंस्थाको नारा छाडेर हिन्दुवादी दल गठनको तयारी गरेका हुन् । राप्रपाको नयाँ नेतृत्वमा थापा पक्षीय नेताहरु धेरै निर्वाचित भएका थिए । तर अध्यक्ष लिङ्देनले मनोनीत गरेर आफ्नो पकड बलियो बनाइसकेका छन् ।

लिङ्देनसँग पराजित भएपछि गत मंसिर १७ गते महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप छानबिन माग गर्दै राप्रपामा निवेदन समेत दिएका थिए ।

अध्यक्ष लिङ्देनले भने थापाको निवेदनलाई पार्टी बैठकमा प्रवेश गराउन अस्वीकार गर्दै निर्मल निवासबारे कुनै किसिमको छानबिन हुन नसक्ने अडान लिएका छन् ।

थापाले माघ १६ गते अध्यक्ष लिङ्देनलाई अर्को पत्र पठाएर निर्मल निवास र ज्ञानेन्द्र शाहको हस्तक्षेप छानबिन भए मात्रै सहकार्य सम्भव हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्